
काठमाडौं,२ असोज । नेपाली कांग्रेसमा गत पुसमा पार्टी बिभाजन गराउन प्रमुख भूमिका निर्वाह गरेका गगन थापालाई किनारा लगाउन बिभिन्न प्रयास जारी रहेको देखिएको छ । सबै तिर शेरबहादुर देउवाको माग र चर्चा बढ्दै गएको छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले नियमित महाधिवेशनतर्फका सभापति शेरबहादुर देउवालाई पार्टीको सर्वोच्च नेता बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो सञ्चारकर्मीसँग कुरागर्दै विश्वकर्माले देउवाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरणगर्ने समेत बताउनु भएको थियो । विश्वकर्माले देउवा १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नरहने पनि स्पष्ट गर्नुभएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका बिशेष महाधिवेशन पक्षका सभापति गगन थापालाई १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीभित्र एकता कायमगर्न पहलगर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिकगर्दै खड्काले थापाले पछिल्लो समय गरेको निर्णयकै आधारमा पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरुसँग तत्काल संवाद शुरुगर्न आग्रह गर्नुभएको हो । उहाँले वैशाख २१ गते आफूहरुबीच भएको संवादपछिनै थापाले निर्णय लिएको भए जेठको पहिलो साताभित्रै कांग्रेस सानेपास्थित केन्द्रीय कार्यालयमा एकताबद्ध भएर उभिन सक्ने अवस्था बन्ने दाबी गर्नुभएको छ । खड्काले थापालाई गम्भीररुपमा आत्मसमीक्षागर्दै एकपटक पुनः घोत्लिनुस् भन्ने आग्रह पनि गर्नुभएको छ ।
खड्काले थापासमक्ष दुईवटा सुझावसमेत दिनुभएको छन्। जसमा पहिलो, असोज ३ गतेदेखि शुरुगर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्नुपर्ने र दोस्रो, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरुसँग आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद शुरु गर्नुपर्ने रहेका छन् ।