काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता र सहमतीय राजनीतिमा जोड दिनुभएको छ । स्वदेश फकिएपछि आज एक बक्तब्य जारीगर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले देशको समृद्धि, राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गर्नुभएको छ । बक्तब्यमा देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको बताउनुभएको छ । देउवाले नयाँ युवा पुस्ताको माग र भावनालाई नेपाली कांग्रेसले आत्मसात् गरेको उल्लेखगर्दै परिवर्तनको यात्रामा अनुभव र नयाँ पुस्ताको उत्साह दुवैको सन्तुलन आवश्यक रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनका जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने आफ्नो धारणा पहिलेदेखि नै रहेको स्मरण गराउँदै उहाँले युवा अघिबढ्नुपर्छ भन्दैमा अग्रजहरुको योगदानलाई नकार्न नमिल्ने धारणा व्यक्त गर्नुभएको छ । इतिहासको त्याग र बलिदानलाई भुल्न नहुनेभन्दै उहाँले आफ्नो विगतको लामो राजनीतिक अनुभव नयाँ पुस्तामा हस्तान्तरणगर्न आफू सधैँ तत्पर रहेको उल्लेख गर्नुभएको छ । सत्तारुढ दल र सरकारको ध्यानाकर्षण गराउँदै देउवाले जनतामा अहिले परिवर्तनको ठूलो आक्यांक्षा देखिएको र त्यसलाई सम्बोधनगर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । उहाँले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर जनताको मतलाई कदरगर्न नसके लोकतन्त्रमा जनतानै अन्तिम निर्णायक हुने चेतावनीसमेत दिनुभएको छ । त्यसैगरी उहाँले कांग्रेसभित्र देखिएका असहमति, असन्तोष र कार्यकर्ताको निराशालाई तत्काल समाधानगरी पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता पनि जनाउनु भएको छ । माओवादीको सशस्त्र द्वन्ददेखि पार्टीभित्रका आन्तरिक विवाद सल्टाएको आफ्नो अनुभवको स्मरणगर्दै देउवाले सबैलाई मिलाएर अघि बढाउने दाबि गर्नुभएको छ ।
००७ सालदेखिको राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसलेनै गर्दैआएको स्मरण गराउँदै देउवाले वर्तमान संविधानको संरक्षण र आवश्यकता अनुसारको संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताउनुभएको छ । आफ्नो सार्वजनिक जीवन खुल्ला किताबजस्तै रहेको र आफूले सधैँ राष्ट्र, लोकतन्त्र, नागरिक र संविधानलाई सर्वोपरी मानेर काम गरेको दाबीगर्दै देउवाले आफू नेता बनेरभन्दा पनि राष्ट्रको आजीवन नागरिक बनेर सेवागर्न फर्किएको बताए। उनले विगतका विभाजन र विद्वेषका घाउहरु बिर्सेर प्रतिशोधको साटो मेलमिलापको मार्ग रोज्न सबै राजनीतिक दल तथा आम नागरिकहरुलाई आह्वान गर्नुभएको छ । उहाँ आजै स्वदेश फर्कनु भएको हो ।