काठमाडौं,२८ साउन । चर्चित पत्रकार किशोर श्रेष्ठलाई विना शर्त रिहाइको मागगर्दै पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडी दिउँसै लालटिन बाmेर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकार श्रेष्ठलाई विना शर्त रिहाइ गर्नुपर्नेभन्दै काठमाडौं परिसर अगाडी लालटीन देखाएर विरोध प्रदर्शन गरिएको हो । काठमाडौं प्रहरी परिसर अगाडी प्रदर्शनगर्ने क्रममा प्रहरीले रोकेपनि पत्रकारहरुले प्लेकार्ड प्रदर्शनगर्दै कालोपट्टी बाधेर परिसर बाहिर धर्ना दिएका छन् । प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रता पुनर्वहाली गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्रौ, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसैबीच नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सबै पत्रकारलाई सरकारी अत्याचार बिरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेको छ ।

महासंघले आज एक विज्ञप्ति जारीगर्दै सरकारी संयन्त्र प्रयोगगरी पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र नेपालको संविधानविरुद्ध रहेको महासंघ ठहर गरेको छ । पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीले गएराति १ बजेतिर उहाँको घरमा र आज बिहीबार बिहानै कार्यालयमा खानतलासी गरिएको जानकारी प्राप्त भएको महासंघकातर्फबाट महासचिव रामप्रसाद दाहालले जारीगरेको विज्ञप्तिमा भनिएको छ । समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालमा रहेको महासंघले स्मरण गराएको छ । यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ। महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकटगर्दै कडा भत्र्सना गरेको छ । महासंघले प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनासर्त रिहागर्न माग गरेको छ । प्रेस स्वतन्त्रताको सम्मानगर्न र समाचारको विषय भए प्रेस काउन्सिलमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । महासंघले आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाहगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह समेत गरेको छ ।

त्यसैगरी नेपाल मिडिया सोसाइटीले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहागर्न माग गरेको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीले आज एक विज्ञप्ति जारीगर्दै समाचार प्रकाशनको विषयलाई लिएर कुनै कानूनी प्रश्न वा आपत्ति भए त्यसको समाधान पक्राउ गरेर नभई प्रचलित कानूनी प्रक्रिया र प्रेससम्बन्धी स्थापित संयन्त्रबाट खोजिनुपर्ने बताउनुभएको छ । उहाँले बक्तब्यमा पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानून तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत बताउनु भएको छ । सोसाइटीले पत्रकारले प्रकाशित गरेको समाचारप्रति असहमति भए प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत कानूनी उपचार खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेखगर्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण त्रसित बनाउने गतिविधिप्रति आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मिडिया सोसाइटी पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानूनको पालना गर्नुपर्ने विषयमा स्पष्ट छ । तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानूनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्छ भनेको छ । स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनविरुद्ध निरन्तर खबरदारी गर्ने प्रतिबद्धता पनि सोसाइटीले जनाएको छ । संसदका अधिकांश प्रतिपक्षी दलहरुले पनि श्रेष्ठको पक्राउको बिरोध गरेका छन् ।