काठमाडौं,५ असार । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगमा बिद्युत लाइन नकाट्न आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेका र अन्य उद्योगीले महसुल तिर्न खोजिरहेका जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थपगर्न अनुरोध गरेको हो । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ २५ गते सूचना जारीगर्दै सात दिनभित्र बक्यौता भुक्तानीगर्न उद्योगलाई निर्देशन दिएको थियो । औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापत ३०० भन्दाबढी उद्योगले ८८ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको लिमिटेडले जनाएको छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै परिसंघले विज्ञप्तिमार्फत उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । औद्योगिक क्षेत्रभित्र भाडा वृद्धिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विसं २०८१ चैत १२ गते लिमिटेडले बढाएको नयाँ भाडादर विसं २०७९ असार २२ गतेदेखि मात्रै लागूहुने फैसला गरेको थियो ।
सो फैसलालाई उद्योगीले स्वीकार गरिसकेको अवस्थामा लिमिटेड सर्वोच्च अदालतको फैसला पुनरावलोकनगर्न सर्वोच्च अदालत गएको अवस्था छ । परिसंघद्वारा जारी विज्ञप्तिमा सर्वोच्चबाट सो विवादको अन्तिम निरुपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा बिद्युत लाइन नकाट्न र काटिएका उद्योगमा पुनःजोड्न परिसंघ अनुरोध गर्दछ भनिएको छ । रासस