
काठमाडौं, २८ साउन । आज दिउँसो नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षका सभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित भब्य स्वागत गरिने भएको छ । आयोजकहरुले तयारी पूरा भएको जनाएका छन् । करिव छमहिनापछि आज स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतगर्न लागिएको हो । देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर पुग्नुभएको थियो ।
त्यसपछि गत चैत सातमा उहाँ सिंगापुरबाट हङकङ पुग्नुभएको थियो । आज समूहले भोली २९ गतेको राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिनुभएको हो । नेकांका नेता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवा आज बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्नुहुने बताउनुभएको छ । स्वदेश फर्किएपछि देउवा भोली शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने आफ्नो समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।
सो समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माकाअनुसार राष्ट्रिय भेलाको उद्घाटन भोली शुक्रबार दिउँसो एकबजे हुनेछ । तीन दिनसम्म चल्ने भनिएको भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने छ । देउवाको स्वदेश आगमनले नेकांकोमात्र नभएर राष्ट्रिय राजनीतिमै दरुगामी प्रभावपर्ने ठानिएको छ । उहाँलाई विमानस्थलमा स्वागत गर्नकालागि ठूलो संख्यामा समर्थकहरु त्रिभुवन विमानस्थल पुग्ने तयारी छ ।
देउवालाई स्वागतका लागि भेलाहुनका लागि तीन स्थान तोकिएको छ । त्रिभुवन विमानस्थल प्रवेशगर्ने गोल्डेन गेट अगाडिको खाली ठाउँ, नमस्ते गेट अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खालीठाउँमा समर्थकहरुलाई भेलाहुन भनिएको छ ।