काठमाडौं, २८ साउन । एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई पदबाट हटाउन माग गर्दै १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । हिजो बुधबार हेटौंडास्थित प्रदेशसभा सचिवालय र एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराइएको हो। केही दिनदेखि अस्वस्थभई अस्पताल भर्ना हुनुभएका नेता थपलिया गत मंगलबारमात्रै डिस्चार्ज हुनुभएको थियो । उहाँ अस्वस्थ रहँदा अविश्वास प्रस्ताव अघिनबढाउने बताएको पूर्वमन्त्री किरण थापामगर पक्षले थपलिया हिजो बुधबार साँझ चितवन फर्कने तयारीमा रहेकै बेला अचानक प्रस्ताव दर्ता गराएको हो ।

संसदीय दलको विधानअनुसार यस्तो प्रस्ताव उपनेताले दर्तागर्ने प्रावधान रहे पनि उपनेता पद खाली रहेकाले कार्यालय सहयोगी सुशीला खतिवडामार्फत प्रस्ताव दर्ता गरिएको बताइन्छ। बागमती प्रदेशसभामा एमालेका २७ सांसद रहेकोमा १६ जनाले लिखित हस्ताक्षर गरेका छन् ।