काठमाडौं,२८ साउन । काठमाडौंबाट प्रकाशित जन आस्था साप्ताहिकका सम्पादक तथा चर्चित पत्रकार किशोर श्रेष्ठलाई हिजो पक्राउ गरेर आज अदालतमा पेश गरिँदै छभने पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरु हिजै काठमाडौं प्रहरी परिसर पुग्नुभएको थियो । उहाँहरुले परिसर अगाडि नाराबाजीगर्दै श्रेष्ठको तत्काल रिहाइको माग गर्नुभएको थियो । पत्रकारहरुले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउगर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभएको छ । उहाँहरुले समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने बताउँदै पत्रकारलाईनै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुनेभन्दै पत्रकार महासंघलगायतका संस्थाले सरकार र सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ । समाचार लेखेकै आधारमा राज्य संयन्त्रद्वारा नियन्त्रणमा लिइनु लोकतन्त्रको उपहास भएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिकगर्दै उहाँले स्थापित मिडिया र पत्रकारमाथि कुनै निश्चित विधि र कानूनी प्रक्रिया नअपनाई धरपकड गरिएको आरोप लगाउनुभएको छ । प्रेस स्वतन्त्रतामाथि राज्यले अंकुश लगाउन खोजेको उल्लेखगर्दै उहाँले गिरफ्तार गरिएका पत्रकार श्रेष्ठको तत्काल र बिनाशर्त रिहाइको माग गर्नुभएको छ । त्यसैगरी जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाउनुभएको छ । सरकारविरुद्ध समाचार सम्प्रेषण गरेकै आधारमा रातारात गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले पत्रकार श्रेष्ठको पत्रकारिता शैलीप्रति आफ्नो असहमति रहेपनि पक्राउगर्ने सरकारको कदम गलत भएको बताउनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिनुभएको जानकारीअनुसार श्रेष्ठलाई हिजो साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो ।

श्रेष्ठलाई हिजो साँझ ललितपुरस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । उहाँविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एकजना पीडितले उजुरी दिएका छन् । हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छभने आज बिहीबार अदालतमा उपस्थित गराउने तयारीगरिएको प्रहरीले जनाएको छ ।