काठमाडौं, २८ साउन । नेकपा (मसाल) ले एमाले र नेपाली कम्युनिष्ट पार्टीसँग प्रदेशमा सत्ता सहकार्यगर्ने घोषणा गरेपछि नेपालको राजनीतिमा हलचल भएको छ । बिभिन्न प्रदेश सरकार गठनमा सहकार्यको यात्रा आरम्भ गरेका एमाले र नेपाली कम्युनिष्ट पार्टीले लुम्बिनी प्रदेश सरकार गठनमा नेकपा (मसाल)सँग पनि सहकार्य गर्ने भएका हुन् । एमालेका अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल र मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माण कार्यमा सहकार्यगर्ने जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्ष तथा प्रतिगमनका विरुद्धको आन्दोलनमा पनि सहकार्यगर्ने उल्लेख छ । गत नौगते दुई ठूला वाम दलबीच प्रदेश सरकारहरुको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको भनिएको थियो । उसैबीच नेकपा(मसाल) का महामन्त्रि मोहनबिक्रम सिंहले एक बक्तब्य प्रकाशित गरी आफ्नो धारणा स्पष्ट गर्नुभएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ– नेकपा(मसाल), नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बीच आज सम्पन्न भएको बैठकमा ने.क.पा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह, नेकपाका संयोजक का. पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष का. केपी ओलीको उपस्थिति रहेको थियो । त्यो बैठकमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष का. रश्मिराज नेपाली र उपाध्यक्ष तथा प्रवक्ता का. दुर्गा पौडेल पनि सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा निम्नलिखित सहमति भएको छ ः
१. लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने ।
२. राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने । हामीले लुम्बिनीमा नेकपा र नेकपा (एमाले)का बीचमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । हाम्रो पार्टीको केन्द्रीय कार्यालयको केही दिन पहिले बसेको बैठकले त्यो निर्णय गरेको थियो र आज त्यसबारे औपचारिक रुपले निर्णय भएको छ । तर हामीले त्यो सरकारलाई समर्थन गरे पनि हामी त्यो सरकारमा सामेल हुने छैनौँ । हामी त्यो सरकारमा सामेल नभए पनि बिभिन्न विकास कार्यक्रमहरुमा मिलेर काम गर्ने सहमति भएको छ । छलफलको दौरानमा यसबारे पनि हाम्रो समान दृष्टिकोण देखा परेको थियो कि तत्काल पार्टी एकताको सम्भावना छैन । त्यसका लागि हाम्रा बीचमा भएका बिभिन्न सैद्धान्तिक, राजनीतिक वा संगठन प्रणालीबारे भएका मतभेदहरुबारे लामो छलफल भएपछि नै सम्भव हुने कुरा हो । त्यस कारण अहिले देशका अगाडि देखा परेका गणतन्त्र र राष्ट्रियता सम्बन्धी गम्भीर समस्याबारे नै संयुक्तरुपले काम गर्नुपर्ने आवश्यकता छ भन्ने कुरामा हाम्रा बीचमा सहमति भएको छ । बैठकमा लुम्बिनी पुरातात्विक शहर, तिनाउ नदीको छेउमा रामापिथेकस सम्बन्धी पर्यटन स्थल र प्युठान ओखरकोटको रक गार्डेनबारे पनि मसालका तर्फबाट विचारहरु प्रस्तुत गरिएका थिए । उक्त पुरातात्विक शहरको निर्माण भएमा त्यो अन्तर्राष्ट्रिय महत्वको पुरातात्विक शहर बन्ने छ र त्यसले नेपालको पर्यटनमा उच्च आयाम थप्ने छ । त्यो शहरको निर्माणका लागि धेरै समय र खर्च लाग्ने छ । तैपनि तत्काल त्यो शहरको डीपीआर तयारपार्न पहलकदमी गर्नुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ ।
त्यसै गरेर पाल्पाको तिनाउ नदीको छेउको जंगलमा रामापिथेकसको बंगाराको अवशेष पाइएको स्थान अन्तर्राष्ट्रिय पुरातात्विक महत्वको स्थान हो । त्यसलाई पर्यटकीय स्थानको रुपमा विकसित गरेमा त्यो स्थान अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय स्थान बन्ने छ । पुरातात्विक बौद्ध शहर, रामापिथेकसको बंगाराको अवशेष सम्बन्धी, पर्यटक स्थल वा प्युठानको रक गार्डेन बारे बैठकमा विषय प्रस्तुत गरिए तर त्यसबारे कुनै समझदारी नभइसकेको कुरा पनि हामीले स्पष्टगर्न चाहन्छौँ । तैपनि उक्त विषयहरुमा सबै पक्ष र लुम्बिनी सरकारबाट समेत उचित समर्थन, सहयोग र बजेटसमेत प्राप्त हुनेछ भन्ने हामीले आशा गरेका छौँ । प्युठानको ओखरकोटको ढाँडमा रक गार्डेनको डीपीआर तयार भइसकेको छ र त्यहाँ त्यस सम्बन्धी कार्यको पनि प्रारम्भ भएको छ । त्यो रक गार्डेनको निर्माण पूराभएमा उक्त स्थान राष्ट्रिय महत्वको पर्यटन स्थल बन्ने छ । हामीले आशा गरेका छौँ, नेकपा(मसाल), नेकपा र नेकपा (एमाले)का बीचको सहकार्यबाट लुम्बिनीका विकास सम्बन्धी कार्यहरुमा पनि धेरै मद्दत पुग्ने छ । त्यस प्रकारका विकास कार्यहरुका लागि हामीले आपसमा सहमति कायम गरेर बढीभन्दा बढी योगदान दिने प्रयत्नगर्ने छौँ ।
हामी तीनवटै पक्षहरुका बीचमा कैयौँ सैद्धान्तिक र राजनीतिक मतभेद भएको वास्तविकताप्रति पनि हाम्रो ध्यान छ । तर हाम्रो पहिलेदेखिको नै यो नीति रहेको छ कि आपसमा मतभेद भएका पार्टी वा संगठनहरुका बीचमा कुनै विषयमा सहमति कायम हुन्छभने त्यसलाई इमानदारिता र दृढतापूर्वक पालनगर्ने गर्नुपर्दछ । अहिले हाम्रा बीचमा जुन सहमति भएको छ, त्यसबारे पनि आपसमा रहेका मतभेदद्वारा बाधा पुग्न नदिइकन इमानदारिता र दृढतापूर्वक लागूगर्ने हाम्रो प्रयत्न हुने छभने अन्य पक्षहरुबाट पनि हामीले त्यही प्रकारको आशा गर्दछौँ । बक्तब्यको अन्तमा बैठकमा कार्यगत एकता सम्बन्धी जुन सहमति भएको छ, त्यसबाट देशमा वामपन्थी र प्रजातान्त्रिक आन्दोलन उठाउनका लागि धेरै मद्दत पुग्ने छभन्ने हामीले आशा गरेका छौँ । यसकासाथै यो कार्यगत एकतालाई अरु विस्तारगर्ने र त्यसलाई देशव्यापीरुप दिने पनि हाम्रो प्रयत्न हुने भनिएको छ ।