काठमाडौं, २८ साउन । लघुवित्त पीडित र मिटरब्याज पीडितहरुले पनि आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा विगत १९ दिनदेखि जारी लघुवित्त पीडितहरुको प्रदर्शनकाक्रममा एक पीडितद्वारा सरकारले आफूहरुको माग सुुनुवाइ नगरेको भन्दै हिजो आत्मदाहको प्रयास गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेको थाहा भएको छ । सर्लाहीको चन्द्रनगर– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाकाअनुसार प्रहरीले तत्कालै उद्धारगरी उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ । उनले आँखा पोल्यो भनेको र सोही उपचारका लागि अस्पताल लगिएको एसपी थापाले बताउनुभएको छ । आगोले शरीरको माथिल्लो भागमा सामान्य जलनजस्तो देखिएको, तर खतरामुक्त रहेको बताइन्छ । गत १० गतेदेखि लघुवित्त पीडितहरुले लघुवित्त खारेजीको मागगर्दै निरन्तररुपमा आन्दोलन गर्दै आएका छन् । लघुबित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन राजधानी मार्च आज १९ औँ दिनसम्म जारी छ । १९ औं दिनसम्म पनि सरकारले माइतीघरमा बसेको लघुवित्त पीडितलाई बेवास्थागर्दै मर्न बाध्य बनाएको बताइएको छ । त्यसैगरी एक मिटरब्याजपीडित महिलाले हिजो बुधबार जनकपुरमा आत्मदाहको प्रयास गरेकी छन् ।

जनकपुर उपमहानगरपालिका–४ घर भएकी फुलकुमारी रजकले धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी थिइन् । मिटरब्याज पीडितहरुले अदालत अगाडि नाराबाजीगर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले हस्तक्षेपगर्दै उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मधुसुधन न्यौपानेका अनुसार उनलाई प्रहरीले उद्धारगरी थप उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।