काठमाडौं,१५ साउन । तराईका केही जिल्लामा शान्ति र सद्भाव भड्किएकोमा ब्यापारी संस्था चिन्तित भएका छन् । यसैक्रममा नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । चेम्बरले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । चेम्बरद्वारा जारी वक्तव्यमा नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेखगर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ ।
त्यसैगरी नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्तगर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रहगरेको छ । परिसंघले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ । विज्ञप्तिमार्फत परिसंघले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद र वार्तामार्फत खोजिनुपर्ने उल्लेखगर्दै आन्दोलन, हिंसा वा द्वन्द्वका माध्यमबाट समाधान ननिस्कने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ ।