काठमाडौं, २९ भदौ । आज महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभएको हो । आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैतीदेवीमा महाकवि देवकोटा मिथ र यथार्थ विषयक गोष्ठीगर्न लागिएको उहाँले बताउनुभएको छ । कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँको निधन भने २०१६ साल भदौ २९ गते भएको हो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।