काठमाडौं, २९ भदौ । गगन थापा नेपाली कांग्रेसलाई एकजुट हुन नदिने अभियानमा रहेको चर्चा चलिरहेकै बेला नेपाली कांग्रेसका गगन थापा समूहका महामन्त्री प्रदीप पौडेलले आफ्नो समूहको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ । महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरकारुपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै उहाँले सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभएको थियो ।

उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटकपटक समयावधि थपगरिएको तथा वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको बताउनुभएको थियो । महामन्त्री पौडेलले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्य केन्द्रदेखि वडा र टोल तहसम्म अधिवेशन प्रक्रियामा सक्रिय रुपमा सहभागी भएको भन्दै कांग्रेसले उनीहरुको भूमिकाको सम्मान गरेको बताउनुभएको थियो ।