काठमाडौं,२८ भदौ । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको खुलाशा गर्नुभएको छ । अग्रगामी मोर्चाद्वारा धनुषाको जनकपुरमा हिजो आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले रास्वपा नेतृत्वको बर्तमान सरकार हरेक दृष्टिकोणले असफल भइसकेको बताउनु भएको थियो । उहाँले विदेशबाट नेपाली फर्काउने कुरा गरेको बर्तमान सरकारले विगत चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यमाथि विचार गर्नुपर्ने बताउनु भएको थियो । स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिनखोजेको डा.राउतको भनाई थियो ।

उहाँले भारतीय सीमानाकाबाट एक दर्जन केरा ल्याउँदा पनि रोक्ने सरकारको नीतिको डा. राउतले घोर निन्दा र भत्सर्ना गर्नुभएको थियो । उहाँले कसैले सामाजिक सञ्जालमा सरकारको नराम्रो गतिविधिको विरोध गरे तुरुन्त पक्राउगर्न लगाउने जस्ता कार्यले बर्तमान सरकार पूर्ण असफल भइसकेको प्रमाणित हुन्छ भन्नुभएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब मधेश केन्द्रित दलहरु एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने बताउनु भएको थियो ।

यादवले छठ पर्वपछि पुनः सडक आन्दोलनगर्ने बताउनुभएको थियो । अध्यक्ष यादवले रास्वपाका प्रधानमन्त्री वालेन्द्र साहले बल्गर मधेश बनाउने भाषण गरेपनि ६ महिनाभन्दा बढी भइसक्दा पनि संविधान संशोधन गर्न÷गराउन नसकेको बताउनु भएको थियो । उक्त कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट करिव दुईहजार नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।