काठमाडौं,९ असार । एमालेका अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र श्रृंखलाबद्ध षड्यन्त्रभएको बताउनुभएको छ । उहाँले जारी गरेको एक बिज्ञप्तिमा उपरोक्त कुरा उल्लेख छ । बक्तब्यमा सरकारले प्रतिशोध साध्न खोजेकोभन्दै सरकारको दमनकारी कदमको डटेर सामनागर्ने उल्लेख छ । अध्यक्ष ओलीले वर्तमान सत्तापक्षले विपक्षी दलहरुप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी एमालेमाथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता होभन्ने कुरा स्पष्ट छ भन्नुभएको छ । अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यतालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानूनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको बताउनुभएको छ । सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उहाँको भनाइ छ । विज्ञप्तिमा जुनसुकै बेला सोधपुछगर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ ।
सार्वजनिक पद धारण गरिसकेका र कानूनलाई सदैव सम्मानगर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको भनिएको छ । उहाँले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएकोभन्दै ओलीले यस्ता हर्कत तत्काल रोक्न चेतावनीसमेत दिनुभएको छ । उहाँले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिनुभएको छ । त्यसैगरी एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउ न्याय प्रक्रियाविपरीत भएको बताउनुभएको छ । उपाध्यक्ष पौडेललाई प्रहरीले सुर्खेतबाट गिरफ्तार गरेलगत्तै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउनुभएको हो । त्यसैगरी एमालेका सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै कानूनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानूनी प्रक्रिया अघि बढ्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रियादिँदै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने बताउनुभएको छ ।
उहाँले कानूनी शासन, लोकतान्त्रिक अधिकार र राजनीतिक स्वतन्त्रताको सम्मान हुनुपर्नेमा जोड दिनुभएको छ । बस्नेतले एमालेका कार्यकर्ता तथा समर्थकलाई उक्त घटनालाई केवल एक व्यक्तिसँग सम्बन्धित विषयकारुपमा नहेर्न आग्रह पनि गर्नुभएको छ । यसैबीच सम्पत्ति शुद्धीकरण विभागले पौडेलको भैंसेपाटीस्थित डेरामा छापा मारेको थाहा भएको छ । उहाँलाई पक्राउ गर्नुअघि नै भैसेपाटीस्थित डेरामा विभागको टोली पुगेको थियो । हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंकामा अनुसन्धान अगाडि बढाइएको भनिएको छ । जेनजी आन्दोलनका क्रममा भैसेपाटीस्थित घरमा आगजनी भएपछि पौडेल हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आउनुभएको छ ।
