काठमाडौं,९ असार । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा शुरुगर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीनवर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान शुरु गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदैआएको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताउनुभयो । उहाँले पोखराको अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि हो, यसले सिङ्गो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ ।

पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिन्छ, यात्राअवधि छोटिँदा खर्च पनि घट्छ भन्नुभयो । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरु सिधँै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ । विश्वकै व्यस्त र महत्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तरराष्ट्रिय क्षेत्रमा पोखराको सिधा हवाई पहुँचपुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रागर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने प्रमुख आचार्यले बताउनुभयो । इमिरेट्स एयरलाइन्सले दुबई अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका छ वटा महादेशका ७६ देशमा रहेका १४३ भन्दाबढी देशहरुमा जोड्दै आएको उहाँको भनाइ छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक निरौलाले एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने बताउनुभयो । उहाँले पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्छन्, लगेज आफैँ सार्नुपर्ने झण्झट पनि हुँदैन ।

दुबईसम्म एउटा विमानले यात्रु बोक्छ, त्यहाँ ट्रान्जिटपछि अर्को विमानले गन्तव्यमा पु¥याउँछ भन्नुभयो । पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । त्यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव ०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षितगर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा शुरु गर्न एयर अरेबियाले चासो देखाएको बताउनुभयो । उहाँले पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ । पोखराबाट नियमित अन्तरराष्ट्रिय उडानहुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्छ, सर्वसाधारण यात्रुहरुले सहज सुविधा पाउँछन् भन्नुभयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रहेको छ । काठमाडौँ केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ ।

दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापितहुँदा मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरुसँग पोखराको पहुँच पुग्ने जनाइएको छ । झण्डै २२ अर्ब ऋणमा बनेको यस विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन गरिएको थियो । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संघीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थल बनेपछि ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा छन् । पोखरा–दुबई सिधा उडानले पोखरा र सिंगो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासंघ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । उहाँले गण्डकी प्रदेशबाट मध्यूपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको संख्या ठूलो छ । पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्नेछ, पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सिधँै पोखरा आउन पाउँछन् भन्नुभएको छ । रासस