
काठमाडौं,२५ साउन । ग्यासको कालोबजारी अत्यधिक बढेपछि त्यसलाई रोक्न गृह तथा उद्योग मन्त्रालय र नेपाल एपली ग्यास उद्योग संघनै परिचालित हुनुपरेको जानकारहरुले बताएका छन् । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको बताइएको छ । भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जनागरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनमा कड्याइ गरिएको बताइन्छ । उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीकाअनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ भने आपूर्तिमा क्रमशः सहजता आउन थालेको छ ।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्रीगर्ने गतिविधि नियन्त्रणगर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि काठमाडौं उपत्यकाका डिपोहरुमा सुरक्षाकर्मी परिचालनगर्न आग्रह गर्नुभएको थियो । मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसैगरी नेपाल एपली ग्यास उद्योग संघले पनि पछिल्लो समय ग्यासको आयात लगातार वृद्धिभइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय होल्ड नगर्न उपभोक्तामा आग्रह गरेको छ ।
भारतबाट सहजै एलपी ग्यासको आयात हुनुकासाथै उद्योगबाट सिलिण्डर रिफिलिङ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न संघले सबैमा आग्रह गरेको हो । नेपाल आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी)बाट सहजरुपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको बताइन्छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ ।