काठमाडौं,२५ साउन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गर्नुभएको थाहा भएको छ । उहाँले हमास वास्तविकरुपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्तानहुने पनि बताउनु भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका कतिपय समाचार बिवरणहरुअनुसार ट्रम्पको बोर्ड अफ पिसले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको बताएको थियो । तर हमासले आफ्ना हतियार बुझाउने विषय इजरायलले सबै प्रकारका आक्रमण अन्त्यगर्ने र गाजाबाट आफ्ना सेना फिर्तागर्ने कुरामा निर्भर रहने बताउँदै आएको छ ।
गत अक्टोबरमा गाजामा प्रारम्भिक युद्धविरामको सहमति भए पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्छ । हमास पूर्णरुपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेनाले कुनै पनि सेना फिर्तागर्ने छैन र हाम्रा सेना तथा नागरिकविरुद्धका खतरालाई विफल पार्न जारी राख्नेछ भन्नुभएको थियो । हमासका एक अधिकारीले बीबीसीलाई दिएको एक प्रतिक्रियामा उक्त समूहले सम्झौताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्छ ।
१५ बुँदे योजना कार्यान्वयनगर्न गम्भीर र जिम्मेवारीपूर्वक लाग्न तयार छ । हमासले मध्यस्थकर्ताहरुलाई सबै पक्षले सहमति गरेका विषयको पालना गराउने सुनिश्चितगर्न आग्रह गरेको उल्लेख छ । इजरायलको यो अस्वीकारले गत वर्ष सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको गाजा शान्ति योजनाका लागि अर्को ठूलो धक्काको संकेत गरेको बताइएको छ ।