काठमाडौं,२७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयनगर्न माग गरेको छ । सो पार्टीले ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठनगर्न पनि माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठनगर्न यसअघि नै माग गरिएको स्मरण गराएको थियो ।
कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज, सिरहालगायतका स्थानमा निर्दोष नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडहुँदा ठूलो क्षतिभएको उल्लेख छ । पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सहमति गरे पनि हालसम्म चारजनालाई शहीद घोषणा गर्नेबाहेक अन्य सहमति कार्यान्वयन हुन नसकेको कांग्रेसको भनाई छ । सरकारले गरेका सहमति अविलम्ब कार्यान्वयनगरी आवश्यक प्रक्रिया अघि बढाउन कांग्रेसले माग गरेको छ ।
त्यसैगरी कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडित संघर्ष समितिलगायत विभिन्न पेशा तथा व्यवसायका संघसंस्थासँग सरकारले गरेका सहमति कार्यान्वयनको माग गरेको छ ।