काठमाडौं,११ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा बिद्युतीय अपराधमा परेका मुद्दाको छिनोफानोगर्न कठीन भएको बताउनुभएको छ । राष्ट्रियसभा, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा साइबर बुलिङ तथा साइबर अपराध र नियन्त्रणका लागि भइरहेका प्रयासको ब्रिफिङगर्ने क्रममा महानिरिक्षक कार्कीले सामाजिक सञ्जालमार्फत ‘फेक आइडी’ बनाउने, गालीगलौज गर्ने, गलत सूचना दिनेलगायत डिजिटल बैंकिङ जस्ता जघन्य अपराध बढिरहेको उल्लेखगर्दै पीडितलाई द्रूतगतिमा न्याय दिन चुनौती थपिएको बताउनुभएको थियो ।
धेरै जसो फेसबुक, इन्ष्टाग्राम, हवाट्सएप लगायतका प्लेटफर्मको दुरुपयोगगर्दै हिंसात्मक गतिविधि भएका मुद्दा प्रहरीमा दर्ता भएको उहाँले बताउनुभयो । उहाँकाअनुसार कार्यालयमा साइबर क्राइमसँग सम्बन्धित दैनिक ८० देखि ९० वटा उजुरी पर्नेगरेका छन् । प्रहरी कार्यालयमा गत वर्ष साइबर बुलिङ र हिंसाका तीन हजार उजुरी परेको महानिरिक्षक कार्कीले जानकारी दिनुभएको थियो । गतवर्ष भने बिद्युतीय अपराधसम्बन्धी १८ हजार ९२६ उजुरी परेका थिए ।
सामाजिक सञ्जालका प्लेटर्फममार्फत व्यक्तिको चरित्रहत्यागर्ने, यौन हिंसागर्ने, गालीगलौजगर्ने र मिथ्या झुटा सूचना प्रसार गर्ने लगायतका क्रियाकलापले अपराधिक गतिविधिलाई बढावा दिएको बताउनु भएको थियो । प्रर्याप्त जनशक्तिको अभाव, प्रविधि सम्पन्न संरचनाको अभाव, पुरानो कानुन हुनुका साथै सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र नहुँदा अपराध व्यवस्थापनगर्न चुनौती झेल्नु परेको महानिरिक्षक कार्कीको भनाइ थियो ।