राना फहरुर
(फाइनान्सियल टाइम्सबाट)

राष्ट्रपतीय चुनावका उम्मेदवारहरूले प्रचारका अन्तिम साताहरू कहाँ बिताउँछन् भन्ने कुराले चुनाव कसरी लडिँदैछ अनि जित र हार कसरी हुन सक्छ भन्नेबारे धेरै कुरा बताउँछ। उपराष्ट्रपति कमला ह्यारिसले चुनाव प्रचारमा बाँकी रहेको समय महिलाहरूलाई फकाउन खर्चिंदै छिन्। २०२४ को चुनावमा प्रमुख निर्णायक मतदाता महिलाहरू हुन सक्छन्। जसरी २०१६ को चुनाव कम शिक्षित श्वेत पुरुषहरू निर्णायक थिए।

ह्यारिसले महिला मतदाताहरूलाई अपिल गरिरहेकी छिन्। जुन अपिल दुवै पार्टीका समर्थकसम्म पुगोस् भन्ने उनको चाहना देखिन्छ। उदाहरणका लागि, गता साता उनले रिपब्लिकन पार्टीकी पूर्वसांसद लिज चेनीसँग कुराकानीको शृंखला चलाइन्। जसको उदेश्य पेन्सलभेनिया, मिसिगन र विस्कन्सिनजस्ता कडा प्रतिस्पर्धा हुने क्षेत्रका मोफसलका महिलाहरूलाई आकर्षित गर्नु थियो। सो कुराकानीका दुवै सहजकर्ता अनुदार धारका थिए।

जुनसुकै राजनीतिक दलसँग सम्बद्ध भए पनि यो चुनावमा महिलाहरूले आफ्नो अन्तरात्माको आवाज सुनेर भोट हाल्नुपर्छ। र, चुनावमा गर्भपतनविरोधी, यौन उत्पीडनमा दोषी पाइएका व्यक्तिविरुद्ध महिला अधिकारको रक्षा गर्दै करिअर बनाएकी पूर्ववकिल उम्मेदवार छिन्। यही कुरा महिलाहरूलाई याद दिलाउनु सो कुराकानीको उदेश्य थियो

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई खतरनाक र अविश्वासिलो भनेकी चेनीले भनिन्, ‘तपाईं अलिकति पनि चिन्तित हुनुहुन्छ भने तपाईं भोट हाल्न सक्नुहुन्छ। र, आफ्नो रोजाइबारे कसैसँग एक शब्द पनि नभनी बस्न सक्नुहुन्छ। यस्ता लाखौँ रिपब्लिकन हुनेछन्, जसले नोभेम्बर ५ मा उपराष्ट्रपति ह्यारिसलाई मत दिने छन्।’

अमेरिकामा मात्र होइन, विश्वमै राजनीति कुन हदसम्म लैंगिक मुद्दामा आधारित भइसकेको छ, यो प्रयासले देखाउँछ। बेलायत, जर्मनी, पोल्यान्ड, दक्षिण कोरिया र अन्यत्र पनि युवा र युवतीहरूबीचको खाडल फराकिलो भएको छ। तन्नेरी पुरुषहरू राजनीतिक रूपमा दक्षिणपन्थतर्फ ढल्किँदा महिलाहरू वामपन्थतर्फ सोझिएका छन्।

अमेरिकामा ग्यालप सर्वेक्षणको आँकडाले के देखाउँछ भने दशकौँसम्म सबै राजनीतिक विचारधारामा दुवै लिंग बराबर फैलिएपछिको अवस्थामा पनि १८ देखि ३० वर्षबीचका पुरुषहरूको तुलनामा ३० प्रतिशत ज्यादा महिला उदार छन्।

यो कुरा अमेरिकामा २०१६ को चुनावमा स्पष्ट भयो। अमेरिकाको ‘मिडवेस्टर्न’ औद्योगिक क्षेत्रका मौन तर आक्रोशित श्वेत पुरुषमध्ये अधिकांशले डेमोक्र्याटिक पार्टीसँगको आफ्नो परम्परागत आबद्धता त्यागे र ट्रम्पलाई मत दिएर जिताए।

यसपटक महिलाहरू आक्रोशित छन्। कारखानाको नोकरी अन्त्य भएकाले होइन, बरु गर्भपतन गर्ने महिलाको अधिकार खतरामा परेको र ट्रम्पले उत्पन्न गरेको आर्थिक जोखिमका कारण। र, सर्वेक्षण अनि राजनीतिक रणनीतिकारहरू सही ठहरिए भने ती महिलाहरूले ठूलो संख्यामा ह्यारिसलाई मत दिन सक्छन्।

अक्टोबरको मध्यमा आएको एनबीसीको एउटा सर्वेक्षण हेरौँ। अन्य थुप्रै सर्वेक्षणजस्तै यसले पनि समग्रमा ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखाउँछ। दुवैसँग ४८ प्रतिशत मत देखिन्छ। ट्रम्पले ग्रामीण क्षेत्रका श्वेतहरूमाझ अग्रता कायम गरेका छन्। र, ह्यारिसले अश्वेत र युवा मतदातामाझ अग्रता लिएकी छन्।

सबैभन्दा ठूलो फरक लिंगमा देखिन्छ। ह्यारिस महिला मतदातामाझ १४ अंकले अगाडि छिन्। कडा प्रतिस्पर्धा भएको निर्वाचन कसले ज्यादा मतदातालाई मतदानस्थलसम्म उतार्न सक्छ भन्नेमा निर्भर हुन्छ। त्यसैले ह्यारिसले महिलाहरूलाई दुई गुणा जोड दिइरहेकी छिन्।

हालैका साताहरूमा ह्यारिसले टिकटकमा टेलर स्विफ्टका प्रशंसकहरूलाई एकजुट पारिन्। द भ्यु नामक दिउँसो प्रसारण हुने र लगभग महिलाले मात्रै हेर्ने टेलिभिजन शोमा आफ्नो घरेलु स्वास्थ्य सेवा योजनाको चर्चा गरिन् र गर्भपतनको अधिकारमा जोड दिइन्। जुन सुरुदेखि नै उनका लागि फाइदाजनक सन्देश रहँदै आएको छ।

एक वा दुईवटा नोकरी गर्ने महिलाहरूका लागि गर्भपतन गराउन बस चढेर अर्को राज्यमा जानुपर्ने स्थिति हुनु कति अमानवीय हुन्छ भनेर ह्यारिसले गरेको जोसिलो तर्क वास्तवमा ट्रम्पसँगको उनको राष्ट्रपतीय बहसको प्रभावशाली क्षणमध्ये एक थियो।

२०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले थुप्रै महिला मतदातालाई विभाजित तुल्याएकी थिइन्। आफू कुकिज बनाउन घर नबस्ने उनको तीखो टिप्पणीले घर बस्ने कयौँ आमाहरूलाई क्रुद्ध तुल्याएको थियो। त्यसविपरीत ह्यरिसले महिलाहरूका हरेक उपसमूहको समर्थन पाएकी छन्।

कामदार वर्गका श्वेत महिला, जसका श्रीमानहरूले ट्रम्पलाई भोट हाल्नेछन्, ले पनि उनलाई समर्थन गर्ने सम्भावना छ। किनकि ह्यारिस गुजाराको संकटजस्ता तिनको भान्साभित्रको मुद्दामा बोल्ने गर्छिन्। खासगरी बालबालिका भएको परिवारलाई कर छुटको दायरा बढाउने उनको योजना लोकप्रिय बनेको छ।

यदि ट्रम्प यति धेरै ध्रुवीकरण गराउने उम्मेदवार हुँदैनथे भने पनि महिला मतदाताहरूलाई लक्षित गर्नु चलाखीपूर्ण राजनीतिक रणनीति हुने थियो। अमेरिकामा पुरुषभन्दा उच्च दरमा महिला मतदाता पञ्जीकृत छन्। त्यसका अलावा, १९८० देखि हरेक चुनावमा योग्यमध्ये भोट हाल्ने महिलाहरूको अनुपात पुरुषको भन्दा ज्यादा रहँदै आएको छ।

तर, २०२४ को चुनावलाई ‘लिंगमा आधारित’ भनिए पनि महिलाले कसलाई मत दिन्छन् भन्ने कुरामा अझै पनि वर्गले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसमा कुनै सन्देह छैन, कलेज गएका शिक्षित महिला, श्वेत र अश्वेत दुवैले ह्यारिसलाई मत दिने छन्। कामदार वर्गका श्वेत महिला, खासगरी जो क्याथोलिक र एभान्जेलिकल हुन्, का लागि ह्यारिसलाई मत दिन कठिन छ। जसका कारण मिडवेस्ट र दक्षिणका केही हिस्सामा प्रतिस्पर्धा बराबरीजस्तो छ।

वास्तवमा वासिङ्टन मन्थ्लीको ‘जेन्डर ग्याप ट्रयाकर’का अनुसार प्रचारको अन्तिमतिर आइपुग्दा ह्यारिसले महिलामाझ आफ्नो अग्रता अलिकति गुमाएकी छन्। जबकि ट्रम्पले पुरुषमाझ आफ्नो अग्रता बढाएका छन्। यसको अर्थ के हो भने ट्रम्पविरुद्ध ह्यारिसले प्राप्त गरेको लैंगिक अग्रता चुनाव जित्दा जो बाइडेन वा बाराक ओबामाले प्राप्त गरेको फराकिलो अन्तरजस्तो होइन, बरु ट्रम्पविरुद्ध हिलारी क्लिन्टनको जस्तो हो।

पहिचानको राजनीतिको कडा परीक्षा हुँदै छ।