काठमाडौं,२९ भदौ । नेपाली कम्युनिष्ट पार्टीको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका फेरी परिवर्तनको अवस्थामा पुगेको थाहा भएको छ । गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमागर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार साउन मसान्तसम्ममा पार्टीको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गरिसक्नुपर्ने थियो ।

त्यसैगरी भदौ १५ सम्ममा वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका थियो । तर, हालसम्म तालिका अनुसार काम हुन नसके पछि अब के गर्ने ? भन्ने पश्न उठेको छ । सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुनेगरी कार्यतालिका संशोधन हुने जानकारी दिनुभएपनि अन्य नेताहरुले सो भनाई सही नभएको बताउन थाल्नु भएको छ ।

अब आजको तिजलगत्तै केन्द्रीय संयोजन समिति बैठक बस्ने र नयाँ निर्णय लिने भनिएको छ । पार्टीको केन्द्रले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपनि अधिवेशनहरु सम्पन्नगर्न आवश्यक कार्यविधि नबनाएकाले समस्या भएको बताउन थालिएको छ । सो पार्टीमा नेताहरुकै बीचमा आरोप–प्रत्यारोप बढ्दैगएको छ ।