काठमाडौं,२७ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण बिभिन्न राजमार्गहरु अबरुद्ध भएको थाहाभएको छ । आज बुधबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्डहरु पूर्ण वा आंशिकरुपमा अवरुद्ध भएका छन् । सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजरगर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोकलगाइएको छ।बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुन्जेबेंशी चल्ने बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोकलगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्मभने परिस्थितिको विचार गरी सवारी साधन चलाउन दिइने व्यवस्था मिलाइएको छ। त्यसैगरी मकवानपुरको हेटौँडा–ठिंगन–बागमतीहुँदै ललितपुर आउने कान्ति लोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी साधन चलाउन निषेध गरिएको छ । अर्को सूचना नभएसम्मका लागि यो नियम लागु हुने जनाइएको छ ।
बागमती प्रदेशमै पर्ने सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्धभएको छ। भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङमा खसेको पहिरोले तातोपानी जाने बाटो पूर्णरुपमा बन्द भएको हो। उता रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन लामो समय लाग्ने विवरणमा उल्लेख छ। कोशी प्रदेशको अवस्था पनि उस्तै छ । इलाम नगरपालिका –९ राजदुवालीस्थित झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग अविरल वर्षाका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । यद्यपि उक्त सडक खण्डमा वैकल्पिक बाटोको व्यवस्था छ । सोही प्रदेशको भोजपुर नगरपालिका – ५ बोखिममा बाढीका कारण मध्यपहाडी मार्ग प्रभावित भएको छ । वैकल्पिक बाटोसमेत रहेको उक्त स्थानमा हाल एकतर्फीरुपमामात्र सवारी साधन चलेका छन् ।
गण्डकी प्रदेशअन्तर्गत बागलुङ र लमजुङका सडकहरु पहिरोका कारण आंशिकरुपमा सञ्चालनमा छन्। बागलुङको जैमिनी नगरपालिकास्थित बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोर एकतर्फीमात्र सुचारु छ । त्यहाँ दुईतर्फी बाटो खुलाउन अझै समय लाग्ने देखिएको छ । लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरे भञ्ज्याङमा पनि मध्यपहाडी मार्ग पहिरोका कारण एकतर्फीरुपमा मात्र सञ्चालन भइरहेको छ । कर्णाली प्रदेशमा बाढीले सडक सञ्जाल विच्छेद गराएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ६ स्थिति रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको बताइएको छ ।