
काठमाडौं, २८ भदौ । गतबर्षको भदौ २३ र २४ को घटनाको तत्काल छानविन हुनुपर्ने माग बढ्दै गएको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि उक्त माग गर्नुभएको छ । पर्साको वीरगञ्जमा हिजो भएको एक पत्रकार भेटघाट कार्यक्रममा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायत प्राप्त संवैधानिक अधिकार संरक्षणगर्दै नागरिकका हक पूर्णकार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याउनुभएको थियो । सहसंयोजक नेपालले ०७२ को संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षागर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एकभई अगाडि बढ्नुको विकल्प छैन भन्नुभएको थियो ।
उहाँले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपांगता भएका व्यक्ति, पीछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्नुभएको थियो । सहसंयोजक नेपालले वर्तमान सरकारप्रति जनताको बिभिन्न आशंका रहेकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । गत १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले देश अहिले विपतमा छ, हिमाली बाडीका कारण ठूलो जनधनीको क्षति भएको छ । खोजी कार्यमा सरकारले उपलब्ध श्रोतसाधन, बिभिन्न संघसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ भन्नुभएको थियो । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकाक्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गर्नुभएको थियो ।
उहाँले समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो। त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ भन्नुभयो । नेता नेपालले एमालेसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताउँदै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकताभने आवश्यक रहेको बताउनुभएको थियो । उहाँले गतबर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गर्नुभएको थियो ।