काठमाडौं,२८ कात्तिक । नेपाल र चीनका सुरक्षा अधिकारहरु बीच दुई देशको सीमामा सुरक्षा सतर्कता अपनाउने सहमति भएको थाहा भएको छ । चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठकमा हिजो उपरोक्त सहमति भएको हो । बैठकमा ताप्लेजुङ र संखुवासभाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । बैठकले लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन र आपराधिक गतिविधि नियन्त्रणमा सहकार्यगर्ने निष्कर्ष निकालेको थाहा भएको छ ।

फुङलिङमा सम्पन्न बैठकले लागूऔषध, अवैध चोरी निकाशी लगायतका सबै प्रकृतिका आपराधिक गतिविधि नियन्त्रणगर्न दुवै जिल्लाबीच आपसी समन्वय र सहकार्यगर्ने निर्णय लिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभएको छ । बैठकले विपद्को समयमा सीमावर्ती पालिका तथा समग्र जिल्ला स्तरमा सूचना र समन्वयका आधारमा उपलब्ध जनशक्ति तथा अन्य स्रोत साधनको प्रयोगगरी विपद् प्रतिकार्यसम्बन्धी कार्यगर्ने सहमतिसमेत कायम गरेको छ ।

चीनसँगको सीमा क्षेत्रको नाका प्रयोगगरी हुनसक्ने सम्भावित अवाञ्छित क्रियाकलापका बारेमा दुवै जिल्लाले सूचना आदानप्रदान तथा समन्वयगर्ने, जिल्ला प्रवेश हुने सीमानाका क्षेत्रहरुमा आपसी समन्वयगरी आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रणगर्न सूचना आदानप्रदानगर्ने सहमतिसमेत भएको बताइएको छ । ताप्लेजुङ र संखुवासभा दुवै जिल्लाको सीमा जोडिएको छभने दुवै जिल्ला मित्र राष्ट्र चीनसँग सीमा जोडिएका छन् ।