काठमाडौं,२८ कात्तिक । सत्तारुढ रास्वपाको चीन भ्रमणमा जाने तयारीमा रहेको जम्बो टोलीले आज सो पार्टीका सभापति रवि लामिछानेसँग छलफलगर्दै छ । हिजो प्रधानमन्त्रि वालेन्द्र शाहसँग छलफल गरेको थियो । रास्वपाले चीनसँगको राजनीतिक, आर्थिक तथा प्राविधिक सम्बन्ध विस्तारसँगै त्यहाँको विकास मोडेल, विपद् व्यवस्थापन र स्थानीय सरकार सञ्चालन प्रणालीको अध्ययनलाई प्राथमिकतामा राख्दै ११ दिने चीन भ्रमणको तयारी गरेको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुनलागेको भ्रमणको कार्यतालिका निश्चित भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहने प्रतिनिधिमण्डलले भोली कात्तिक २९ गते (नोभेम्बर १५) देखि चीन भ्रमण गर्नेछ । टोली सिचुवान प्रान्तको छेङ्दुबाट भ्रमण शुरु गरी विभिन्न प्रान्तका औद्योगिक, शैक्षिक, प्राविधिक तथा प्रशासनिक संरचनाको अध्ययनगर्दै बेइजिङ पुगेर भ्रमण सम्पन्न गर्नेछ ।
भ्रमणको पहिलो चरणमा सिचुवान प्रान्तका विकास आयोजना र संस्थाहरुको अवलोकन गर्ने कार्यक्रम छ । नोभेम्बर १६ मा टोलीले त्यहाँस्थित हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्कको भ्रमण गर्नेछ। सोही दिन सीपीसीको पार्टी स्कूलका नेताहरुसँग विचार आदानप्रदानगर्ने कार्यक्रम पनि तयभएको बताइन्छ । नोभेम्बर १७ मा टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेन्चुआन क्षेत्रको भ्रमण गर्नेछ । उक्त भूकम्पमा ८७ हजारभन्दा बढी मानिसको मृत्युभएको थियो । भूकम्पपछि पुनर्निर्माणका लागि अपनाइएका विधि, संरचना पुनःस्थापना र विपद्पछिको व्यवस्थापनबारे टोलीले अध्ययन गर्ने भनिएको छ । नोभेम्बर १८ मा छेङ्दुस्थित अनुसन्धानमा आधारित जायन्ट पाण्डा ब्रीडिङ केन्द्रको अवलोकनगर्ने कार्यक्रम छ । त्यसैदिन सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी हुनेछ । नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्तका लागि प्रस्थान गर्ने छ । त्यहाँ नोभेम्बर २० मा रोबोटिक्स प्रविधिसम्बन्धी क्षेत्रको भ्रमण तथा औद्योगिक पार्कको अवलोकन गर्ने कार्यक्रम छ। औद्योगिक उत्पादन, स्वचालित प्रविधि र आधुनिक उद्योग सञ्चालनका अभ्यासबारे जानकारी लिने टोलीको तयारी छ ।
नोभेम्बर २१ मा तीव्रगतिको रेलमार्फत यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्रको भ्रमणगर्ने कार्यतालिका छ। त्यसैदिन ग्रामीण तहमा सरकार सञ्चालन र तल्लो तहसम्म पार्टी संरचना निर्माणसम्बन्धी अभ्यासको अवलोकन गर्नेछ । स्थानीय सरकारको कार्यसम्पादन, सेवा प्रवाह र ग्रामीण विकासका मोडेलबारे अध्ययन गर्ने कार्यक्रमलाई पनि भ्रमणमा समेटिएको छ । नोभेम्बर २२ मा जेजियाङ विश्वविद्यालयमा थिंक ट्यांक विकाससम्बन्धी अध्ययन हुनेछ । नोभेम्बर २३ मा जिन्ह्वामा चीन–नेपाल उद्यमीबीच इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स आयोजना हुनेछ । उक्त कार्यक्रममा दुवै देशका उद्यमी सहभागी हुनेछन् । नोभेम्बर २४ मा प्रतिनिधिमण्डल बेइजिङ पुग्ने कार्यक्रम छ । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटवार्तागर्ने कार्यक्रम छ । सीपीसीका विज्ञहरुसँग छलफलगर्नुका साथै पार्टीको ऐतिहासिक संग्रहालयको अवलोकन पनि गर्नेछ ।
चीनको राजनीतिक इतिहास, पार्टी सञ्चालन प्रणाली र विकास यात्राबारे जानकारी लिने कार्यक्रमसमेत भ्रमणमा समेटिएको छ । ११ दिने भ्रमण पूरागरी टोली नोभेम्बर २६ मा स्वदेश फर्कनेछ । महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री हरि ढकाल र प्रमुख सचेतक बुर्लाकोटीसहित सांसदहरु सहभागी हुने छन् । भ्रमण टोलीमा लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहने बताइएको छ ।