काठमाडौं,२८ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अग्रजहरुको संघर्षबारे जानकारी लिन नयाँं पुस्तालाई आग्रह गर्नुभएको छ । नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा हिजो आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताउनुभएको होे ।

भक्तपुरमा किसानको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको उहाँले बताउनुभएको थियो । भक्तपुरका जनता राजनीतिक रुपमा सचेत रहेको उल्लेखगर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको पुस्ताले विगतका संघर्ष प्रत्यक्ष रुपमा नदेखेकाले समाज रुपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र संघर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । विगतका संघर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापनागर्न यहाँका अग्रजले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहेको बताउनुभयो । ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा ख्वप इञ्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज बनाउने दिशामा अघि बढिरहेको बताउनुभएको थियो ।