काठमाडौं,२६ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले रास्वपाको बर्तमान सरकार बिरुद्ध खतराको घन्टी बज्नलागेको खुलाशा गर्नुभएको छ । सिंहदरबारमा हिजो संसदीय मामिलाका पत्रकारहरुसँगको छलफलकाक्रममा संयोजक दाहालले उपरोक्त खुलाशा गर्नुभएको थियो । त्यसक्रममा उहाँले वर्तमान सरकार कम्पास हराएको जहाजजस्तै भएको बताउनुभएको थियो । रास्वपा सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता बढेको महशुस गरेको बताउँदै उहाँले सामाजिक सञ्जाल र आन्दोलनबाट बनेको रास्वपाको जनाधार दीर्घकालीन संगठनमा रुपान्तरण हुन सहज नरहेको टिप्पणी पनि गर्नुभएको थियो ।

उहाँले बर्तमान सरकारले अघिसारेको संविधान संशोधनको बहसप्रति आपत्ति जनाउँदै प्रस्तावनानै फेर्ने प्रयास संशोधन नभई संविधान पुनर्लेखन भएको बताउनुभएको थियो । उहाँले अभ्यासका आधारमा केही प्रावधान परिमार्जनगर्न सकिने तर धर्मनिरपेक्षता, संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धि उल्ट्याउने प्रयास भए खतराको घन्टी बज्ने चेतावनी दिनुभएको थियो ।

०७२ को संविधानको प्राप्तिपछि राजनीतिक दलहरु दीर्घकालीन सोचभन्दा सरकार बनाउने–गिराउने र सत्ता केन्द्रित राजनीतिमा अल्झिएको स्वीकारगर्दै संयोजक दाहालले दलहरुले आफ्नै कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभएको थियो । उहाँले अबको राजनीतिक मैदान सडक र आमसभाभन्दा सामाजिक सञ्जाल, एआई र डिजिटल प्लेटफर्म बनेको भन्दै उनले डिजिटल प्रविधिको शक्ति बुझ्न दलहरुले ढिलाइ गरेको बताउनुभएको थियो ।