काठमाडौं,२६ साउन । बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि नेपालसँग सशंकित देखिएका छन् । हिजो काठमाडौंमा भएको एक भेलामा उहाँहरुले त्यस्तो आशंका र संसय ब्यक्त गर्नुभएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी विस्तारको लागि प्रोत्साहनगर्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई हिजो अर्थमन्त्रालयमा बोलाउनुभएको थियो । त्यसक्रममा लामो समयदेखि उत्पादनमूलक उद्योगदेखि सेवा क्षेत्रसम्म लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले पाइलैपिच्छे समस्या भोग्नु परेको बताइएको थियो । कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, नेपालमा उपलब्धहुने कच्चापदार्थ प्राप्तिमा सहजीकरण र मूल्य नियन्त्रण, जग्गाको हदबन्दी फुकुवा, स्थानीय तहपिच्छेको कर निर्धारणलगायतका विषयमा सरकारले सहजीकरणगर्न जरुरी रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुको भनाई थियो । नेपालको सरकारले नयाँ लगानीको अनुकूल वातावरण बनाए २०० अर्ब रुपैयाँ लगानी थप्न तयाररहेको उहाँहरुको भनाई थियो ।

छलफलमा सहभागी भएका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुले जलबिद्युत, पेन्ट उद्योग, होटेल र पेय पदार्थलगायतका उत्पादनमूलक क्षेत्रका विभिन्न परियोजनाहरुमा लगानी विस्तारगर्न सकिने र त्यसका लागि लगानीको उचित वातावरण चाहिने बताउनुभएको थियो । दोहोरो करको झन्झट हटाउन र प्रतिफल फिर्ताको प्रक्रियालाई सहज बनाउन पनि उनीहरुले अर्थमन्त्री वाग्लेलाई आग्रह गरेको थाहाभएको छ । छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टस्जस्ता बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।