काठमाडौं, २० साउन । महाकाली सन्धिका कारण दोधारा–चाँदनीमा नहर निर्माणमा अन्योल देखिएको छ । नेपाल–भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा–चाँदनी नहर निर्माण अन्योल बनेको छ । नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने एक हजार १०० मिटर मूल नहर निर्माण नहुँदा तीन दशकसम्म पनि दोधारा–चाँदनीले पानी पाउन नसकेको हो । महाकाली सन्धिअनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । ०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।

सन्धिमा कञ्चनपुरको दोधारा–चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भएपनि कार्यान्वयन हुननसकेको महाकाली सिँचाइ आयोजना तेश्रो चरणका आयोजना निर्देशक डा योगेन्द्र मिश्रले बताउनुभउको छ । दोधारा–चाँदनीमा नेपाली पक्षले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको उहाँले जानकारी दिनुभएको छ । उहाँले भारतीय भूमिमा भारतीय पक्षले बनाउनुपर्ने एक हजार १०० मिटर नहर निर्माण भएपछि मात्रै दोधारा–चाँदनीले पानी पाउने हो । उक्त नहर अहिलेसम्म निर्माण हुनसकेको छैन । हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ, ठेक्का भने लाग्न सकेको छैन भन्नुभयो । उहाँले भारतले नहर बनाउन शुरु गरेमात्रै नेपालतर्फ निर्माण शुरु हुने बताउनुभयो ।

निर्देशक डा मिश्रका अनुसार नेपालले सीमाबाट दोधारातर्फ १६ किमी मूल नहर बनाउनुपर्नेछ । शारदा नहरबाट दोधारा–चाँदनीमा पानी पुगे यहाँ तीन हजार ४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो । महाकाली सन्धिमा सन्धी सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्नुपर्नेमा सम्झौताको ३० वर्षसम्म पनि नेपालले पाउनुपर्ने पानी नपाएको महाकाली सन्धिका जानकार विष्णु अवस्थीले बताउनुभएको छ । उहाँले सन्धि सम्झौता भएको तीन दशकसम्म पनि नेपालले पानी पाउन सकेको छैन, यसमा सरकार गम्भीर भएर समन्वयगर्नु जरुरी छ । यसपटक प्रधानमन्त्रीको भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्छ, नेपालले सन्धि सम्झौताअनुसारको पानी पाउनुपर्छ भन्नुभएको छ ।