काठमाडौं, १९ असोज । अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवत–जावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छभने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छभने कान्तिलोकपथ ललितपुरको बागमती–३ टाकुचेमा खसेको पहिरोले आवात–जावत बन्द छ । यसैगरी फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ ।
बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी–११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ । त्यस्तै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रुपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताउनुभयो । प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोगगर्न र स्थानीय प्रशासनको निर्देशन पालनागर्न आग्रह गरेको छ । रासस