वाशिंटन, १९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङका भनाईको नक्कल गरेको खुलाशा भएको छ । करिब ८० वर्षअघि चीनका नेता माओत्सेतुङले जनताको मनोबल बढाउन अमेरिकालाई कागजी बाघ भन्नुभएको थियो । अहिले, त्यही शब्दलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोगगर्दै रुसमाथि व्यंग्य गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक बहस चर्किएको छ । सेप्टेम्बर २३ मा ट्रुथ सोसलमा पोष्टगर्दै ट्रम्पले रुसलाई कागजी बाघभन्दै त्यसको सैन्य क्षमतालाई व्यंग्य गर्नुभएको थियो । यस टिप्पणीले क्रेमलिनलाई आक्रोशित बनायो । यद्यपि ट्रम्प केही समय चुप लाग्नुभयो, गतसाता मंगलबार अमेरिकी सेना अधिकारीहरुलाई सम्बोधनगर्दा उहाँले पुनः प्रश्न उठाउनुभयो–तपाईं चार वर्षदेखि लडिरहनुभएको युद्ध एक हप्तामै सकिनुपर्ने हो — के तपाईं कागजी बाघ हुनुहुन्छ ? त्यसैगरी गत बिहीबार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जवाफ फर्काउँदै भन्नुभयो–हामी नाटोको सम्पूर्ण शक्ति विरुद्ध लडिरहेका छौँ र अघिबढिरहेका छौँ । हामी आत्मविश्वासी छौँ ।
यदि हामी कागजी बाघ हौँ भने, जानुस् र त्यसैसँग व्यवहार गर्नुहोस् । यो शब्दको प्रयोगले चिनियाँ क्रान्तिकारी इतिहासको चिरपरिचित नारालाई पुनः चर्चामा ल्याएको छ । एशिया सोसाइटीका वरिष्ठ विश्लेषक जोन डेलुरी भन्नुहुन्छ–एक चिनियाँ इतिहासकारका रुपमा ट्रम्पले माओको मनपर्ने अभिव्यक्ति उधारो लिएर रुसमाथि प्रहारगर्दा मलाई हाँसो लाग्यो । माओले सन् १९४६ मा अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङलाई दिएको अन्तर्वार्तामा अमेरिकी एटम बमलाई कागजी बाघ भन्नुभएको थियो । उहाँका अनुसार अमेरिकाले शक्तिको ढोङ गर्छ तर वास्तवमा त्यो कमजोर छ । चीनमा यो वाक्यांश झिलाओहुभन्ने शब्दबाट आएको हो, जसको अर्थ हो — कागजको बाघ । चिनियाँ प्रचार साहित्यमा यो शब्दले साम्राज्यवादी पश्चिम, विशेषतः अमेरिकालाई जनाउँथ्यो । माओले बारम्बार भन्नुभएको थियो–सबै प्रतिक्रियावादीहरु कागजी बाघ हुन् । पार्टीका सिद्धान्तकारहरुकाअनुसार यो रणनीतिक शोच र प्रचारको तीक्ष्ण हतियार थियो । सन् १९७० को दशकमा अमेरिका–चीन सम्बन्ध सुधार भएपछि यो प्रचारित नारा कम प्रयोगमा आयो । तर पछिल्लो समय द्विपक्षीय सम्बन्ध फेरि चिसिएसँगै यसको प्रयोग दोहोरिन थालेको छ । हालै, चीनको विदेश मन्त्रालयले पनि यही वाक्यांश प्रयोगगर्दै अमेरिकाको नीतिको आलोचना ग¥यो । प्रवक्ताले अमेरिका एउटा कागजी बाघमात्रै हो, यसको ढोङमा नपर्नुहोस् भनेका थिए । ट्रम्पले रुसमाथि टिप्पणीगर्दा यो पुरानो चिनियाँ प्रचार वाक्यांश फेरि चर्चामा आयो ।
वाशिंटन पोष्टका स्तम्भकार युजिन रोबिन्सनले फेब्रुअरीमा ट्रम्पको विदेश नीतिलाई कागजी बाघ भन्नुभएको थियो । हार्वर्ड प्राध्यापक लरेन्स ट्राइबले मे महिनामा ट्रम्पको आप्रवासन नीतिको आलोचनागर्दै पनि यही शब्द प्रयोग गर्नुभएको थियो । राजनीतिक विश्लेषकहरुका अनुसार अहिले अमेरिका र रुसले एकअर्कालाई कागजी बाघ भनिरहेको बेला शक्ति सन्तुलनको नयाँ यथार्थ झल्किने संकेतसहित चिनियाँ राष्ट्रपति सी जिनपिङभने चुपचाप हेरेर बस्नुभएको छ । रासस,एपी