काठमाडौं,२० जेठ । आगामी २८ र २९ गते राप्रपाको बैठक बस्ने भएको छ । राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले अप्रत्याशित रुपमा पार्टीबाट बहिर्गमनको निर्णय लिएपछि सो पार्टीभित्र ठूलो तरंग पैदाभएको छ । राप्रपा पूर्णरुपमा महाधिवेशनको तयारीमा होमिएका बेला उक्त घटना भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक अपिल जारीगर्दै महामन्त्री राणालाई आफ्नो निर्णय फिर्ता लिन र पार्टी एकताबद्ध राख्न सार्वजनिक आग्रह गर्नुभएको छ ।

लिङ्देनले पार्टी पूर्णरुपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको संवेदनशील अवस्थामा महामन्त्री राणाको बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताउनुभएको छ । उहाँले पार्टीका पूर्वअध्यक्षहरुको आह्वान, आम नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भावनाको सम्मानगर्दै आफ्नो निर्णय फिर्ता लिन डा. राणासँग आग्रह गर्नुभएको छ । अध्यक्ष लिङ्देनले राणालाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सामेल हुनसमेत आह्वान गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले देश तथा विदेशमा रहेका पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्ताहरुलाई पार्टी एकता र शुभेच्छुकहरुको भावना विपरीतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन अपिल गर्नुभएको छ । उहाँले कसैलाई पनि विचलित नभई एकताबद्ध भएर आसन्न स्थानीय तह र जिल्ला अधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक लाग्न निर्देशन पनि दिनुभएको छ । आगामी केन्द्रीय समितिको बैठकले महाधिवेशनको अन्तिम कार्यतालिका टुंगो लगाउने कार्यक्रम छ ।