सिंगापुर, १९ भदौ । सिंगापुरको निजी क्षेत्रको आर्थिक गतिविधिमा अगस्ट महिनामा निरन्तर सुधार देखिए पनि अघिल्लो महिनाको तुलनामा त्यो सुधारको गति केही सुस्त देखिएको छ । एसएन्डपी ग्लोबलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, समायोजित खरीद प्रबन्धक सूचकांक (पीएमआई) अगस्टमा ५१.२ अंकमा मापन गरिएको छ, जुन जुलाई महिनामा ५२.७ थियो । पीएमआई ५० अंकभन्दा माथि रहँदा आर्थिक विस्तारको संकेत गर्दछ भने ५० भन्दा तल झर्दा संकुचन देखिन्छ । यो सातौँ महिनासम्म लगातार भएको वृद्धिको संकेत हो, यद्यपि वृद्धिको गति केही मन्दभएको बताइएको छ । एसएन्डपी ग्लोबल बजार विश्लेषण विभागकी अर्थशास्त्री जिङयी पानले जानकारी दिँदै भन्नुभयो–तश्रो त्रैमासिकको मध्यतिर आइपुग्दा पनि सिंगापुरको निजी क्षेत्र विस्तारकै चरणमा देखिएको छ, तर हाल अमेरिकाले गरेको भन्सार शुल्कका कारण व्यापारमा केही दबाब देखिएको छ ।

उहाँकाअनुसार नयाँ अर्डरहरु हालको सात महिनाको अवधिमा सबैभन्दा सुस्त दरमा बढेका छन्, जसको प्रमुख कारण अमेरिकी शुल्कले व्यापारमा पार्ने असर हो । साथै, व्यवसायीहरुबीचको आत्मविश्वासमा पनि अघिल्लो महिनाको तुलनामा केही कमी आएको उल्लेख गरिएको छ । रोजगारी, खरीद र भण्डारणको स्तर घट्दैगएकाले आगामी दिनहरुमा अझ सुस्तता आउने सम्भावना रहेको पनि प्रतिवेदनमा जनाइएको छ । पानले थप्नुभयो–कच्चा पदार्थको लागत बढ्नु र सामान तथा सेवाका मूल्य घट्नुले गर्दा कम्पनीहरुमा नाफामा थप दबाब परेको छ । यस्तो अवस्थामा बजार प्रतिस्पर्धा अझ कडा भएको देखिन्छ । त्यसैगरी, सिंगापुर खरीद तथा सामग्री व्यवस्थापन संस्थाले सार्वजनिक गरेको छुट्टै प्रतिवेदनअनुसार, देशको उत्पादन क्षेत्रको पीएमआई सूचकाङ्क जुलाई महिनाको तुलनामा ०.१ अंकले बढेर ५० पुगेको छ, जुन अनिश्चित अवस्थामा रहेको संकेत हो । रासस÷सिन्ह्वा