काठमाडौं, ८ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः शुरुगर्ने भएको छ । कम्पनीले अन्तराष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकाता कात्तिक २ १९ अक्टोबरबाट पुनः शुरुगर्ने भएको हो । कोलकाता–काठमाडौंको सीधा हवाई सेवा सञ्चालनगर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एकमात्र हो ।शुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालनगर्ने कम्पनीको योजना छ । काठमाडौंबाट बिहान ७ः०० बजे र कोलकाताबाट स्थानीय समय ०९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ । यात्रुको एकतर्फी भाडा रु १३ हजार ३५३ तोकिएको छ । घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि समावेश गरिनेछ ।

समय र पैसाको बचत होस हेतुले बुद्ध एयरले नेपालबाट भारतका बिभिन्न धार्मिक तथा सांस्कृतिकस्थल भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका बिभिन्न स्थानको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेज पनि सञ्चालन गरिरहेको छ । नेपाली यात्रुहरुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गङ्गासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास बुद्ध एयरको रहेको छ ।

बुद्ध एयरले देशका बिभिन्न भागमा दिनहुँ छ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । यसअघि बुद्ध एयरले ०७६ सालको बैशाख दुई गतेदेखि कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ गतेदेखि सो उडान तत्कालको लागि स्थगन गरेको थियो । रासस