काठमाडौं,१० असोज । नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीबीच भएको एकता घोषणा कार्यक्रमपछि एकीकृत बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको पहिलो महत्वपूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक क. लोकनारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह्य कारणले देशमा उत्पन्न गम्भीर राष्ट्रिय राजनीतिक संकटबारे विश्लेषण गर्दै आगामी कार्यक्रमको रुपमा पार्टीको एकता राष्ट्रिय भेला सम्पन्न गर्ने, संगठनको एकीकरणलाई पूर्णता दिन एकीकृत आन्तरिक संगठनात्मक संरचनाहरुको समेत निर्माण गरी अघि बढ्ने लगायतका निर्णयहरु सहित देसको वर्तमान गम्भीर स्थितिको आँकलन गरेर निष्कर्श निकालेकोे छ । हाल नेपालका हरक्षेत्रमा बढिरहेको चरम भ्रष्टीकरण र गम्भीरतम बाह्य हस्तक्षेपका कारण देसमा उत्पन्न तरल, जटील र अन्यौलपूर्ण राजनीतिक स्थितिमा नेपाली जनताको सचेत समाजिक एकता र राष्ट्रिय एकतालाई पहिले कहिल्यैभन्दा अझ बढी सुदृढ र सशक्त तुल्याउन जरुरी भएको बैठकले अत्यन्तै गम्भीरताकासाथ महसुस छ । अमेरिका लगायतका साम्राज्यवादीहरुको बढ्दो नाङ्गो हस्तक्षेपका बिरुद्ध नेपालको राष्ट्रिय स्वाधीनता र स्वत्व–अस्तित्व रक्षा गर्दै शान्ति र प्रगतिको लागि संयुक्त र सशक्त खबरदारी आन्दोलन आजको अपरिहार्य तत्कालीन आवश्यकता बन्न गएको पनि बैठकले ठहर गरेको छ । त्यसको लागि बैठकले विशेषतः क्रान्तिकारी कम्युनिष्टहरु, वाम–लोकतान्त्रिक शक्तिहरु तथा सामन्तबाद, साम्राज्यबाद बिरोधी देशभक्त जनसमुदायहरु र शोषित–पीडित नेपाली जनताका सबै तह र तप्कालाई एकजुट भै यस संगीन स्थितिको प्रतिरोध गर्न आह्वान गरेको छ । सो पार्टीका संयोजक लोकनारायण सुवेदीका अनुसार बैठकले लिएका मुख्य निर्णयहरु निम्न छन् –
१. क. बैठकले जेन जी पुस्ताका नेपाली युवा–विद्यार्थीहरुले देशमा भैरहेको चरम भ्रष्टाचारका सन्दर्भमा नेपाल सरकारले साम्राज्यवादीहरुका कतिपय सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता गरी संचालन गर्न बारबार ताकेता गर्दा पनि ‘भ्रष्ट देशलाई कर तिर्दैनौँ’ भन्दै अटेर गरेपछि ती सामाजिक सञ्जालहरुको संचालनमा राज्यले रोक लगाउँदा सूचना र संचारको हकबाट जेन जी समुदाय लगायत सिंगोे सर्वसाधारण जनसमुदाय बञ्चित हुनु प¥यो । फलतः बढ्दो भ्रष्टाचार र केही सामाजिक संजालमाथिको रोकलगायतका कुशासनका विरुद्ध उठेको युवा–विद्यार्थीहरुको पवित्र भावना र सीमित उद्देश्यसहितको गत भदौ २३ को शान्तिपूर्ण न्यायिक आन्दोलनमाथि राज्यपक्षबाट भएको क्रूर दमन र नृशंश हत्याद्वारा आन्दोलन र आन्दोलनकारीलाई भड्काएर राज्य स्वयंका तर्फबाट नै वैदेशिक साम्राज्यवादी षड्यन्त्र र हस्तक्षेपलाई सफल पारी देसमा विध्वंस मच्चाउने अवसर दिएकोप्रति घोर आपत्ति प्रकट गर्दै बैठकले त्यस्ता ।षडयन्त्रपूर्ण बिधंशकारी गतिबिधिको तीव्र निन्दा र घोर भत्र्सना गरेको छ । त्यसरी निर्मम हत्या गरिएका ६ दर्जनभन्दा बढी नेपाली युवाहरुलाई उच्च सम्मानका साथ शहीद घोषणा गर्न, घाइतेहरुको शीघ्रातिशीघ्र निशुल्क गुणस्तरीय उपचार गर्न र पीडित परिवारलाई अधिकतम क्षतिपूर्तिसहित त्यस्ता परिवारका कम्तिमा एकजनालाई आजीवन रोजगारीको सुनिश्चितता प्रदान गर्नुका साथै हत्यारा अपराधीहरुमाथि उच्च स्तरीय न्यायिक छानबिन आयोगद्वारा अनुसन्धान गरी हदैसम्मको कडा कारबाही गर्न समेत बैठकले जोडदार माग गरेको छ ।
१. ख. राज्यको यसप्रकारको आकस्मिक, अकल्पनीय, अवांछित र नृशंश दमनबाट आक्रोशित जनसमुदायलाई उत्तेजित पार्ने, उक्साउने, भड्काउने र यस्तो नृशंश दमनको प्रतिरोधको नाममा देशव्यापीरुपमा र खासगरी राजधानीस्थित राज्य–प्रशासनका संवेदनशील क्षेत्रका राष्ट्रिय संरचना र सम्पदाहरु संसद भवन, सिहंदरबार र सर्वोच्च अदालतलगायतका विभिन्न निजी तथा सामुदायिक व्यापार–वाणिज्य प्रतिष्ठानहरुमा समेत भयावह आगजनी, व्यापक तोडफोड, आतंक र लूटपीटको योजनाको पछाडि नेपाललाई सधैं अस्थिरता, अराजकता र अन्यौलसहित परम संकटको भुँवरीमा धेकेलेर असफल राष्ट्र बनाउने साम्राज्यवादी षड्यन्त्र लुकेको निष्कर्ष पनि बैठकले निकालेको छ । यतिमात्र होइन, बैठकले नेपाललाई विश्वकै प्रमुख शक्तिकेन्द्र बन्न थालेको हाम्रो छिमेकी मित्र राष्ट्र चीनविरोधी युद्ध–अखाडामा परिणत गर्ने पश्चिमा शक्ति खासगरी अमेरिकी साम्राज्यबाद र उसका सहयोगी देशहरुको कुत्सित मनसाय रहेको गम्भीर आशंकाको पनि आँकलन गरेको छ । यस घटनाले हाम्रो देशको सार्वभौमिकता, स्वाधीनता र अखन्डतामाथि नै बज्र प्रहार गरेको छ । अतः सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनताका विभिन्न तह र तप्काका जनसमुदाय विशेषतः साम्राज्यवादी हस्तक्षेप लगायतका सबै खाले बाह्य हस्तक्षेपका बिरुद्ध संघर्षरत रहेका क्रान्तिकारी कम्युनिष्टहरु, वाम तथा सच्चा लोकतान्त्रिक शक्तिहरु र साम्राज्यबाद बिरोधी देशभक्त शक्तिहरु समक्ष पहिले कहिल्यैभन्दा बढी सजगताका साथ अहिले एक ढिक्का भएर यो साम्राज्यबादी घुषपैठ, हस्तक्षेप र अद्वितीय विध्वंशका विरुद्ध खडा हुन र निरन्तर प्रतिरोध र खबरदार गर्न बैठकले विशेष र जोडदार आग्रह गरेको छ ।
१. ग. नेपाललाई अमेरिकी सैन्य अखडा बनाउने यो भयावह षडयन्त्र नेपालको लागि मात्र होइन विश्वमै पहिलो शक्ति बन्दै गएको हाम्रो छिमेकी मित्र राष्ट्र चीन र भारतका लागि समेत ठूलो चिन्ता र चासोको विषय हो र हुुनु पर्दछ भन्ने पनि बैठकले निष्कर्ष निकालेको छ । स्मरणीय छ कि संयुक्त राष्ट्र संघ र नेपाल समेत एक चीन नीतिका पक्षमा रहेको भएता पनि चीनबाट तिब्बतलाई अलग्याउने अमेरिकाको घोषित नीति नै रहेकोले एमसीसी, एकपीपी जस्ता अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित योजनाहरु नेपालमार्फत अघि बढाएको कुरा विश्वसमक्ष सार्वजनिक नै छ ।
२. क. बैठकले वर्तमान संकटपूर्ण राजनीतिको अग्रगामी निकास नखोजी यथास्थितिवादी र प्रतिगामी प्रकृतिका कुनै पनि कदमले देशमा उत्पन्न समस्या हल गर्दैन बरु संकटलाई अझ गम्भीर र घनीभूत बनाउने निश्चित छ भन्ने अहिलेसम्मका अनुभवहरुले प्रस्ट पारेको दर्शाउदै नेपालको सार्वभौमिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै यसलाई अझ सुदृढ तुल्याउने, जनतन्त्र र जन जीबिकालाई सुनिश्चित, सुरक्षित र समुन्नत पार्ने दिशामा अग्रसर हुँदै जनअधिकार र नागरिक स्वतन्त्रता कायम राखी राष्ट्रिय सार्वभौमिकतालाई सुदृढ तुल्याउने निकास मात्र नेपाल कम्युनिष्ट पार्टीलाई मान्य हुने कुरा प्रस्टसँग अघि सारेको छ । यस सन्दर्भमा हाल यसरी अलोकतान्त्रिक र असंवैधानिक तरिकाले जनता र राष्ट्रको आकांक्षा र हितमा भन्दा बाह्य स्वार्थमा बन्दै गरेको सरकार होइन कि साम्राज्यवाद, प्रतिगगमन र यथास्थितिविरोधी शक्तिहरुको सर्वपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यसैको सहमतिमा अन्तरिम प्रगतिशील स्वाधीन सरकार बनाउने र त्यसै सरकारमार्फत वर्तमान हत्या र विध्वंसको न्यायिक छानवीन गराई संलग्न अपराधीलाई कार्वाहीलगायतका भ्रष्टाचार नियन्त्रण, सुशासन र राष्ट्रिय स्वाधीनताका अभियानहरु चलाउँदै छिटोभन्दा छिटो पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार आमनिर्वाचन गराई निर्वाचित शक्तिहरुको समानुपातिक प्रतिनिधित्वको आधारमा सहमतीय सरकार बनाई भ्रष्टाचारको मूल आधार र अस्थिरताको मूल कारणलाई दीर्घकालीन रुपमा एकैसाथ समाप्त पारी स्वाधीन र समुन्नत राष्ट्र निर्माणको महा अभियानको मार्गमा अघि बढ्नुपर्ने दीर्घकालीन महत्वको दूरदर्शी र वस्तुवादी मार्गचित्र प्रस्तुत गरेको छ ।
२. ख. बैठकले नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीको एकतापछिको पहिलो महत्वपूर्ण एकता राष्ट्रिय भेला आगामी कार्तिक १५ देखि १७ सम्म जनकपुरमा सम्पन्न गर्ने निर्णय गर्नुका साथै त्यसको तयारीस्वरुप एक अपलि प्रकाशन गर्ने, तथा पार्टीको नियमित बुलेटिन प्रकाशन गर्ने, प्रचार–प्रसार गर्ने लगायतका एकता राष्ट्रिय भेला सम्पन्न गर्नका लागि आवश्यक पर्ने बजेटको लागि यही असोज १५ गतेदेखि राष्ट्रिय भेला सम्पन्न नगर्दासम्मको समय अबधि भित्रको सममइसम्म विशेष आर्थिक सहयोग संकलन गर्ने निर्णय समेत गरेको छ । यसप्रति आर्थिक, भौतिक र नैतिक सहयोग गरिदिन पनि सम्बन्धित सबै मित्रजनसँग पार्टी हार्दिक अपिल गर्दछ
३. बैठकले समान दृष्टिकोण, विचार र सिद्धान्त लिएका आधारभूत क्रान्तिकारी कम्युनिष्टहरुसँगको एकता–वार्ता प्रकृयालाई निरन्तरता र तीव्रता दिने, आधारभूत साझा समस्या समाधानका लागि एउटै मोर्चामा आबद्ध रहेर लड्ने र तात्कालिक कुनै खास–खास बिषयमा मिल्नसक्ने अग्रगामी र स्वाभिमानी शक्ति, समूह, संघसंस्था र स्वतन्त्र क्रान्तिकारी नागरिक व्यक्ति–व्यक्तित्वहरुसँग समेत कार्यगत एकता गरेर जाने संस्कारलाई कार्यपद्धतिकै रुपमा अँगालेर अघि बढ्नको लागि हाम्रा एकता–वार्ताका केही आधारहरु तय गर्ने र त्यसैका आधारमा अघि बढ्न वार्ता कमिटीलाई निर्देशन गर्ने निर्णय पनि गरेको छ । सो वार्ता कमिटीले पार्टीगत, मोर्चागत र कार्यगत जुनसुकै स्तरको पनि वार्ता गरेर आन्दोलनलाई एकीकृत गर्ने कार्यलाई विशेष जोड दिएर सार्थक र सकारात्मक परिणाम ल्याउने विश्वास लिएको छ ।
४. पार्टीकोे केन्द्रिय एकीकरणपछि पार्टीका तल्ला इकाइसम्म र जन बर्गीय संगठनहरुलाई पनि एकीकरण र विस्तार गर्न पार्टी इन्चार्जहरु सहितका सबैजसो जवस फ्रयाक्सन कमिटीहरु पनि बैठकले तय गरेको छ ।
५. सचिवालय बैठकले पार्टीका केन्द्रीय कामहरुलाई नियमित–व्यवस्थित गर्न, पार्टी कमिटीहरुलाई अनुगमन र निर्देशन गर्न र नीतिनिर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न–गराउनको लागि संयोजक क. लोकनारायण सुवेदीको इन्चार्जसिपमा क. नारायण शर्मा, क. शरणविक्रम मल्ल, क. लक्ष्मण उप्रेती र क. मुकुन्द आचार्य रहनुभएको पाँच सदस्यीय कार्य सम्पादन समितिको गठन गरेको छ ।