काठमाडौं, १२ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको ग्वाञ्जाओमा सिधा उडान शुरु गरेको छ । निगमले हिजो शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौंनियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज नौगतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भएपनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान हिजो शनिबार दिउँसोमात्र भयो । ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही संख्याका यात्रु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्धभएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो । निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौँबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट १०७ यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ । पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुनेछ । निगमले हरेक हप्ता तीनवटा नियमित उडानगर्ने तालिका तयगरेको छ । पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक दुई र छगते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।

काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार तोकिएको निगमले जनाएको छ । काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाटभने हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान भर्दै आएको छ । नेपालीहरुको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिकरुपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंगलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ । रासस