वाशिंटन, १२ असोज । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको अवज्ञागर्न अमेरिकी सैनिकहरुलाई खुलेर आह्वान गरेका कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्धगर्ने निर्णय गरेको छ । यस कदमपछि अमेरिका–कोलम्बिया सम्बन्धमा थप तनाव आएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारीगर्दै राष्ट्रपति पेट्रोको लापरवाह र भड्काउने गतिविधिका कारण उहाँको भिसा रद्ध गरिएको हो भनेको छ । राष्ट्रपति पेट्रो संयुक्त राष्ट्र महासभाको वार्षिक अधिवेशनका लागि न्युयोर्कमा रहँदा गाजामा जारी युद्धविरुद्ध भएको विरोध प्रदर्शनमा सहभागी हुनुभएको थियो । त्यसक्रममा उहाँले म संयुक्त राज्य अमेरिकाका सैनिकहरुलाई भन्छु, मानवताविरुद्ध आफ्नो राइफल नउठाउनुहोस्, ट्रम्पका आदेशहरुको अवज्ञा गर्नुहोस् भन्नुभएको थियो । यस घोषणापछि राष्ट्रपति पेट्रो शनिबार कोलम्बिया फर्कनुभएको थियो । तर, अमेरिकी कदमले उहाँको भविष्यका भ्रमणहरुमा प्रभावपार्ने वा नपार्नेभन्ने विषयमा विदेश मन्त्रालय मौन छ । कडा, प्रायः बैचारिक भाषणका लागि चिनिनु भएका राष्ट्रपति पेट्रोले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यो सजायले मलाई फरक पार्दैन, किनभने म युरोपेली नागरिक पनि हुँ, जसलाई अमेरिकामा प्रवेशका लागि भिसा आवश्यक पर्दैन ।
मानवता विश्वभर स्वतन्त्र हुनुपर्छ भन्नुभएको छ । विशेषगरी लागूऔषध तस्करीविरुद्धको लडाइँमा कोलम्बिया लामो समयदेखि अमेरिकाको नजिक सहयोगी मानिँदै आएको छ । तर, वामपन्थी तथा पूर्व विद्रोही नेता पेट्रो र ट्रम्प प्रशासनबीच बारम्बार मतभेद देखिँदै आएको छ । यसअघि वर्षको शुरुमा राष्ट्रपति पेट्रोले अमेरिकी सैन्य विमान प्रयोगगरी निर्वासन उडानहरु सञ्चालनगर्ने कदमको विरोध गर्नुभएको थियो । यस घटनाले कूटनीतिक तनाव निम्त्याएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले उच्च भन्सार शुल्क र भिसा निलम्बनसहित कडाकदम चाल्ने चेतावनी दिनुभएको थियो । अमेरिका कोलम्बियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यही कारण राष्ट्रपति पेट्रोको सरकारले अन्ततः ती विमानहरु स्वीकार गर्ने निर्णय लिएको थियो । तर, यस महिनाको शुरुमा अमेरिकाले कोलम्बियालाई लागुऔषध नियन्त्रणका प्रयासमा असफल भएको भन्दै आलोचना गरेको थियो । राष्ट्रपति पेट्रोले जवाफमा हाम्रो देशले कोकेनलाई संयुक्त राज्य अमेरिका पुग्ननदिन अनगिन्ती प्रहरी, सैनिक र सामान्य नागरिकहरुको ज्यान गुमाएको बताउनु भएको थियो ।