काठमाडौं, १२ असोज । गत भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलगायत पाँचजनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोकलगाउने निर्णय गरेको हो । आयोगले जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोकलगाउने निर्णय भएको उल्लेख छ ।

आयोगले भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेकोहुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नहुन तथा छानबिनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनुपर्नेहुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्थागर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने भनेको छ । त्यसैगरी गत भदौ २३ र २४ गतेको घटनाको छानबिनगरी प्रतिवेदन पेशगर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारीरुपमा सम्पादनगर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ । रासस