काठमाडौं,१५ असोज । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को हिजो असोज १४ गते सम्पन्न भएको केन्द्रीय कार्यालयको बैठकले देशको बिद्यमान राजनीतिक स्थितिमा अन्तरिम सरकारले खासै प्रभावकारी कामगर्न नसकेको निष्कर्ष निकालेको छ । सो पार्टीमा महामन्त्रि मोहनबिक्रम सिंहले जारीगर्नुभएको एक बक्तब्यमा बिभिन्न बिषयमा बर्तमान सरकारको ध्यानाकर्षण गराएइको छ–
१. गत भाद्र २३ गते जेन्जीको आन्दोलनकाक्रममा भएको ठूलो पैमानाको गोली प्रहार र हत्यालाई ने.क.पा. (मसाल)ले गम्भीरतापूर्वक लिएको छ । त्यस प्रकारको दमनका लागि जिम्मेवार व्यक्तिहरुमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
२. पूर्व प्रधानमन्त्री केपी ओलीले २३ गतेको गोलीकाण्डमा उनले दिएको आदेशभन्दा बेग्लै अन्य तत्वहरुबाट अनाधिकृत प्रकारले गोली हानिएकोभन्ने दाबी गरेका छन् । त्यसबारे पनि हामीले निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गर्दछौ ।
३. जेन्जी आन्दोलनका दौरानमा कतिपय विदेशी तत्वहरुको घुसपैठ भएकोभन्ने कुरा पनि गम्भीर रुपमा उठिरहेको छ । त्यसबारे पनि निष्पक्ष र उच्चस्तरीय छानबिनको लागि हामीले माग गर्दछौ ।
४. गृह मन्त्रालयले गत भाद्र २४ को ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरुलाई त्यसको छानबिनका लागि बनेको आयोगबाट सिफारीस नआउँदासम्म कुनै कारवाही नगर्ने जुन निर्देशन दिएको छ, त्यसलाई हामीले गलत मान्दछौँ । त्यो अवस्थामा उक्त अपराधजन्य गतिविधिका लागि जिम्मेवार व्यक्तिहरुलाई उम्कने अवसर प्राप्त हुनेछ र त्यस सन्दर्भमा गिरफ्तार भएका कैयन् व्यक्तिहरु थुनामुक्त भइसकेकोभन्ने समाचार पनि प्राप्त भएको छ । त्यसैले हामीले गृहमन्त्रालयको उक्त निर्देशनलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।
५. जेन्जी आन्दोलनको एउटा मुख्य माग भ्रष्टाचारबारे छानबिन र त्यसबारे कडा कारवाही रहेको छ । यो आमरुपमा थाहाभएको कुरा होकि राजनीतिक वृत्तकासाथै प्रशासन यन्त्रमा पनि पहिलेदेखि नै व्यापक भ्रष्टाचार हुनेगरेको छ । त्यसबारे वर्तमान सरकारले कहाँसम्म प्रभावशाली प्रकारले कारवाहीगर्न सक्नेछ, त्यसमानै वर्तमान सरकारको सफलता निर्भर रहनेछ ।
६. अहिले ०४६ सालदेखि यताका सरकारी वा सार्वजनिक पदमा भएका मानिसहरुको सम्पत्ति र भ्रष्टाचारको छानबिनगर्ने कुरा उठिरहेको छ । तर त्यतिमात्र पर्याप्त हुने छैन । ०१७ सालदेखि नै सरकारी वा सार्वजनिक पदमा भएका मानिसहरुको सम्पत्ति र उनीहरुले गरेको भ्रष्टाचारको छानबिन गरेपछिमात्र भ्रष्टाचारको वास्तविक चित्र अगाडि आउनेछ ।
७. जेन्जीका युवाहरुले पुराना पुस्ता वा राजनीतिज्ञहरुलाई पूरै बहिष्कारगर्ने आवाज उठाइरहेका छन् । तर जेन्जी आन्दोलनपछि सत्तामा आएका सबै व्यक्तिहरु पुराना पुस्ताहरुका मानिसहरु नै रहेका छन् । त्यसबाट कुनै पनि राजनीतिक जिम्मेवारीका लागि राजनीतिक परिपक्वता, क्षमता र अनुभवको आवश्यकता हुन्छभन्ने कुरा पुनः सावित भएको छ । त्यो कुरा सम्पूर्ण विश्वको अनुभवबाट प्रमाणित हुँदै आएको छ र नेपालको जेन्जी आन्दोलनपछिको प्रयोगबाट पनि त्यो कुरा प्रष्ट भएको छ ।
८. जेन्जी आन्दोलनका दौरानमा भएको घुसपैठ अपराधजन्य कार्यहरु र ध्वंसात्मक कारवाहीहरु जेन्जी युवाहरुद्वारा भएका छैनन् भन्नेनै हाम्रो धारणा छ । तर ती सबै कार्यहरु जेन्जी आन्दोलनका नाममानै भएका थिए । उनीहरु त्यसप्रकारका ध्वंसात्मक कार्यहरुलाई रोक्न सफल नभएको तथ्यबाट आवश्यक अनुभव, परिपक्वतावा नेतृत्वदायी क्षमता नभएका जेन्जी पुस्ताबाट कुनै ठूलो आन्दोलन वा राजनीतिक जिम्मेवारी पूरागर्नु सम्भव हुँदैन भन्ने कुरा व्यवहारले नै प्रमाणित गरेको छ ।
९. उमेरका दृष्टिकोणले परिपक्व भएको कारणलेमात्र नै कुनै व्यक्ति राजनीतिक नेतृत्वको लागि योग्य हुँदैन भन्ने कुरा नेपालका पुराना राजनीतिक नेताहरुको शासनकालमा देशमा भएको भ्रष्टाचार र कुशासनबाट अव्यवस्था पनि प्रष्ट भएको छ । त्यसकारण उमेर कसैको क्षमता वा राजनीति परिपक्वताको कसौटी हुन सक्दैन वा हुनु हुँदैन र उसमा देश र जनताप्रतिको सेवाभाव, देशभक्ति र इमानदारिता नै कस्तो छ ? त्यसका आधारमा नै कोही राजनीतिक नेतृत्वको लागि योग्य छ वा छैन त्यो कुरा निर्णयात्मक हुनुपर्दछ ।
१०. आखिरमा जनता नै कुनै पनि देशको भाग्यविधाता हुन् । त्यही प्रकारले नयाँ पुस्ताको पनि कुनै देशको भाग्यको निर्धारणमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर विश्वको र नेपालको पनि इतिहासले बारम्बार यो बताउँदै आएको छकि जनता वा नयाँ पुस्ताले सही र गलत राजनीतिमा अन्तर गर्न सकेनन् वा उनीहरु एक वा अर्को प्रकारको गलत राजनीतिको असरमा परे भने देश बर्बादीतिरनै जान्छ । गत भदौ २४ गतेको घटनाबाट पनि त्यो कुरा प्रस्ट भएको छ । सम्पूर्ण जनता वा युवा पुस्ताले भदौ २४ गतेको घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता छ ।
११. हाम्रो यो स्पष्ट मत रहेको छकि गत भाद्र २४ गते देशव्यापी रुपमा भएका विध्वंसात्मक कार्यहरु युवा पुस्ताबाट अवश्य पनि गरिएका थिएनन् । तैपनि ती कार्यहरु जेन्जी आन्दोलनका नाममा नै भएका थिए । त्यसकारण युवा पुस्ताले यो पत्तालगाउने प्रयत्न गर्नुपर्दछ, त्यस प्रकारका ध्वंसात्मक कार्यहरुका पछाडि को थिए ? वा ती कार्यहरुका पछाडि कसले नेतृत्व गरेको थियो ? कसले योजना बनाएको थियो ? वर्तमानका लागिमात्र होइन, भविष्यमा पनि देशलाई सबै प्रकारका दुर्दशाहरुबाट बचाउनको लागि त्यसबारे स्पष्टताको आवश्यक छ ।
१२. युवा पुस्ताको जोश र उत्साहप्रति उच्च प्रकारको सम्मान प्रकट गर्दागर्दै पनि जुन देशीय वा विदेशी तत्वहरुले गत भदौ २४ को आन्दोलनमा विध्वंसात्मक भूमिका खेले उनीहरुका विरुद्ध उच्च प्रकारको चेतना र सम्झौताहीन संघर्षको आवश्यकताप्रति ने.क.पा. (मसाल)विशेष जोड दिन्छ ।
१३. सेनाले स्थितिमाथि नियन्त्रण गरेपछि गत भाद्र २५ गतेदेखि ध्वंसात्मक गतिविधिहरु रोकिएका थिए । तर त्यस सन्दर्भमा यो अनुमानगर्नका लागि आधार छकि सेनाले त्यही प्रकारले ध्यान दिएको भए २४ गतेको राजधानी र देशव्यापीरुपमा भएका ध्वंसात्मक कार्यहरुलाई पनि रोक्न सकिन्थ्यो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन आदिसमेत नष्ट हुनबाट बचाउन सकिन्थ्यो । त्यसप्रति सेनाले किन ध्यान दिएन ? वा किन कुनै प्रयत्न गरेन ? त्यो एउटा गम्भीर प्रश्न हो ।
१४. त्यो दिन काठमाडौं महानगरपालिकाकातर्फबाट आगो निभाउन दमकल किन पठाइएन ? काठमाडौं महानगरपालिकाले त्यसको पनि जवाफ दिनुपर्ने छ ।
१५. देशमा भ्रष्टाचार वा कुशसनका लागि जिम्मेवार व्यक्तिहरुको सम्पत्तिको छानविन गरेर उनीहरुमाथि कारवाही गर्नुपर्दछ भन्ने हाम्रो पहिलेदेखि नै मत रहँदै आएको छ र अहिले पनि त्यो मतमा हामी दृढ छौँ । जेन्जी पुस्ताको पनि त्यो एउटा मुख्य माग थियो । तर भ्रष्टाचारको विरुद्ध कारवाहीगर्ने नाममा कतिपय व्यक्तिहरुमाथि कुटपिटगर्ने, घरमा आगो लगाइदिने वा तोडफोडगर्ने जस्ता जुन कार्य गरियो, ती गैरकानूनी कार्यहरु हुन् र त्यस प्रकारका अपराधजन्य कार्यहरुको हामीले कडा शब्दमा विरोध र भत्र्सनागर्दै त्यस्ता कारवाहीहरुका लागि जिम्मेवार व्यक्तिहरुमाथि कानुनअनुसार कडा सजाय गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
१६. नेपालको अहिलेको राजनीतिक घटनाक्रमका पछाडि मुख्य भूमिका जेन्जी युवाहरुको भएपनि त्यसलाई आफ्ना निहीत स्वार्थका पक्षमा प्रयोगगर्न अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र राजावादीहरुको भूमिकाले पनि काम गरेको वास्तविकताप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आउने दिनहरुमा पनि उनीहरुले अहिलेको घटनाक्रम र राजनीतिक अस्थिरतालाई आफ्ना स्वार्थका पक्षमा उपयोगगर्ने प्रयत्न गरिरहने छन् । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमसत्ता तथा गणतन्त्र र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना रहन्छ । त्यसैले ने.क.पा. (मसाल) ले त्यस प्रकारका सबै सम्भावनाहरुप्रति नेपाली जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छ ।