काठमाडौं,१६ असोज । चीनमा जनवादी गणतन्त्र स्थापना भएको ७६ बर्ष भएको उपलक्षमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले हिजो एक बक्तब्य प्रकाशितगरी शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाले भन्नुभएको छ– कमरेड माओको नेतृत्वमा विश्व हल्लाउने महान चिनियाँ जनताको सामन्तबाद तथा साम्राज्यवाद विरोधी भीषण संघर्षको परिणामस्वरुप चीनमा जनवादी गणतन्त्र स्थापना भएको ७६ औं बार्षिकोत्सवको उपलक्षमा नेपाल कम्युनिष्ट पार्टी संघर्षशील क्रान्तिकारी चिनियाँ जनतालाई उच्च समानका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ र चीनियाँ कम्युनिष्ट पार्टीको सबल नेतृत्वमा चीन चौतर्फीरुपले बैज्ञानिक समाजवादको अग्रागामी मूलबाटोमा तीव्रता र सफलताका साथ अघिबढ्न सकोस्भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछ ।
यतिबेला नेपाल अत्यन्तै त्रासदीपूर्ण संकटको घडीबाट गुज्रिरहेको र एउटा छिमेकी देशको यस्तो दुर्दान्त अवस्थाले चीनमा समेत नकारात्मक असरपर्ने कुराबाट मित्रराष्ट्र चीन अनभिज्ञ छैन भन्ने कुरामा नेपाल कम्युनिष्ट पार्टी विश्वस्त छ । दुई देशकाबीच प्राचीन कालदेखि नै प्रगाढ सम्बन्ध कायम रहँदै आएको र खासगरी दुई देशकाबीच दौत्य सम्बन्ध कायम भएयता चीनले नेपालको सार्वभौमिक अखण्डता र राष्ट्रिय स्वाधीनताको निरन्तर सम्मानगर्दै आएको अनि नेपाल पनि एक चीन नीतिप्रति सदा कायम रहँदै आएको हो । बक्तब्यको अन्त्यमा पछिल्लो समय परस्परको यो सम्बन्धमा आँच आउने खतरा पैदा हुनथालेको स्थितिले नेपाल कम्युनिष्ट पार्टी चिन्तित छ । यसबाट दुई देशबीचको सुमधुर सम्वन्धमा कटुता उत्पन्न हुने स्थिति सिर्जना गर्न बाह्य शक्तिको बढ्दो गतिबिधिप्रति हाम्रो पार्टी सजग पनि छ । यस्तो सन्देहास्पद स्थितिमा दुई देशबीचको सुमधुर सम्बन्ध अझ गाढा र विश्वसनीय तुल्याउन आवश्यक छ ।
यसक्रममा जनस्तरीय सम्बन्ध विस्तार र सुदृढगर्न तथा दुई देसबीचमा कनेक्टिभिटी बढाउन पनि उत्तिकै आवश्यक भन्ने नेपाल कम्युनिष्ट पार्टी औंल्याउँछ । अन्तमा फेरि एकपटक हाम्रो पार्टी महान् चिनियाँ राष्ट्रिय दिवसका सन्दर्भमा जुझारु चिनियाँ जनता, चिनियाँ कम्युनिष्ट पार्टी र कमरेड माओत्सेतुङसमेतलाई उच्च सम्मानकासाथ हार्दिक सलामगर्दै चिनियाँ जनता र राष्ट्रको उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्तगर्न चाहन्छ भनिएको छ ।