गृहमन्त्री अर्याल-अनुगमन

काठमाडौं,२५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘निर्वाचन प्रहरी’को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नुवाकोटमा निर्वाचन सुरक्षा एवं निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी लिन हिजो त्यहाँ पुग्नुभएका गृहमन्त्री अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन प्रहरीको भूमिका प्रमुख सुरक्षा निकायसरह रहने बताउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयमा सञ्चालन भइरहेको निर्वाचन प्रहरीको तालिम अवलोकनपश्चात् उहाँले स्वयंसेवकका रुपमा जिम्मेवारी हुने भए पनि निर्वाचन प्रहरीको व्यवहार, कार्यशैली र आचरणबाट मतदातालाई संयमित र जिम्मेवार बनाउन सहयोग पुग्दछ भन्नुभएको थियो ।

निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निष्पक्ष रुपमा निर्वाचन गराउन सहयोग पुग्ने भएकाले जिम्मेवारभई उच्च मनोबलका साथ सेवा पु¥याउन गृहमन्त्री अर्यालले सबैलाई निर्देशन दिनुभयो । तालिम अवलोकनका क्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सम्पन्नगर्ने जिम्मेवारीलाई ऐतिहासिक अवसरका रुपमा लिन निर्वाचन प्रहरीलाई आग्रह गर्नुभयो । निर्वाचनमा सबैभन्दा अग्रपंक्तिमा रहेर मतदाताको लाइन व्यवस्थापनमा सहयोग पु¥याउनेसहित तोकिएका थप जिम्मेवारी पूरा गर्ने क्रममा दबाब र प्रभावमा नपरी सांगठानिक अनुशासन कायम राख्न उहाँले स्मरण गराउनुभएको थियो । सरकारले निर्वाचन प्रहरीलाई नेपाल प्रहरीसरह सेवा र सुविधा उपलब्ध गराई चालिस कार्यदिनका लागि यही साता नियुक्ति दिएर तालिम सञ्चालनगर्दै आएको छ ।