
काठमाडौं, २५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न नपाउने अवस्था सिर्जना भएको छ । उहाँले आफ्नो उम्मेदवारी खारेजगर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश नआएपछि उपरोक्त अवस्था सिर्जना भएको हो । न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले चौधरीविरुद्ध अन्य मुद्धा विचाराधीन अवस्थामा रहेकोभन्दै आज अन्तरिम आदेश जारी नगर्ने निर्णय गर्नुभएको हो ।
अदालतको आदेशमा संवैधानिक र कानूनी व्यवस्थाको व्याख्या अन्तिम सुनुवाइको समयमा हुनेछ, त्यसैले माग बमोजिम अन्तरिम आदेश दिनुपर्ने अवस्था छैन भनिएको छ । चौधरीले कैलाली क्षेत्रनम्बर १ बाट दिएको उम्मेदवारी खारेजगर्ने निर्वाचन अधिकृतको निर्णय बदरगर्न मागगर्दै गत नौगते सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।