
काठमाडौं,१८ चैत । आजबाट सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशका रुपमा न्यायापालिकाको नेतृत्व सम्हाल्ने हुनुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेर हदका कारण आजबाट अवकाश पाएपछि मल्लले वरिष्ठताका आधारमा स्वतः सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने हुनुभएको हो । राउत ०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।
मल्ल नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । संविधानको धारा २८४ (३) अनुसार प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा कम्तीमा एक महिनाअघिनै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ तर पूर्वप्रधानमन्त्री कार्कीले परिषद् बैठक नबोलाउँदा उक्त संवैधानिक प्रावधानअनुसार सिफारिस भएको छैन । अब प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले परिषद् बैठक बोलाएर नयाँ प्रधानन्यायाधीश सिफारिस नगरेसम्म सर्वोच्च अदालत कायममुकायम नेतृत्वमै चल्नेछ ।
हालसम्मको अभ्यास हेर्दा सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा रहिआएको छ ।