
काठमाडौं, २० चैत । प्रहरीले एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २३ को घटनामा गोली चलाउन आदेश दिएको प्रमाण जुटाउन नसकेको थाहाभएको छ । यसैक्रममा जिल्ला अदालत काठमाडौले ओली र लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धानगर्न अनुमति हिजो दिएको छ । अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईकाअनुसार अदालतले गत १५ गते पाँच दिन म्याद थपको अनुमति दिएकोमा सो म्याद सकिएपछि दुई दिन म्याद थप गरेको हो । यसअघि, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको थियोे । सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघिबढाउन माग गरेको थियो ।
जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुनुहुन्थ्यो । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझगर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा पक्राउ पूर्जी जारी गरेर गत शनिबार ओली र लेखकलाई पक्राउ गरिएको थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ । महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीको विधान, नियमावली र केन्द्रीय सदस्यको नाम अद्यावधिक गरिएको हो । उहाँले प्रतिनिधिसभा निर्वाचनका कारणले पार्टी महाधिवेशनपछि विवरण बुझाउन नपाइएकाले आज मात्र बुझाइएको बताउनुभयो । एमालेको गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन भएको थियो । पार्टीको महाधिवेशन भएपछि निर्वाचन आयोगमा सबै विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।