
काठमाडौं, २० चैत । पूर्ब माओवादी नेता तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधान निर्माण गरेका शक्तिहरु राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा हिजो आयोजित कार्यक्रममा उहाँले मुलुकमा जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डताको रक्षा, क्रान्तिका उपलब्धिको संरक्षणका लागि ती शक्तिबीच सहकार्यको आवश्यकता औँल्याउनुभउको थियो । संयोजक दाहालले बाह्रबुँदेदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरु तथा परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाउन आफ्नो पार्टीले आवश्यक समन्वयगर्ने बताउनु भएको थियो ।
निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताउँदै उहाँले जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गरेर सरकारका राम्रा कामको समर्थन एवं गलत कामको विरोध गर्ने तथा संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाहगर्ने बताउनु भएको थियो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचन परिणामबाट नेता तथा कार्यकर्ता विचलित र निराश नहुन आग्रहगर्दै नयाँ परिस्थितिमा नयाँ ढंगले उच्च मनोबल र उत्साहसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।