काठमाडौं,२८ कात्तिक । ऐतिहासिक महत्व रहेका जग्गा तथा भवनहरु भाडामा दिन नहुनेभन्ने आवाज उठेको छ । जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रष्टको स्वामीत्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन आग्रह गरेको छ । समितिको हिजो बसेको ५४औँ बैठकले ऐतिहासिक महत्वको उक्त जग्गा लिजमा नदिन नेपाल ट्रष्टलाई आग्रहगर्ने निर्णय गरेको जिसस प्रमुख लीलाधर पौडेलले स्थानीय समाचारदाताहरुलाई बताउनुभएको हो ।
ट्रष्टले केही समयअघि रत्न मन्दिर, हिमागृह र बाराहीघाटलगायत ठाउँमा आफ्नो स्वामीत्वमा रहेको जग्गा व्यावसायिक प्रयोजनका लागि ३० वर्षलाई लिजमा दिने योजना सार्वजनिक गरेको थियो । जिसस प्रमुख पौडेलले जिल्लाभित्र रहेको सरकारी तथा सार्वजनिक जग्गासँगै ऐतिहासिक, प्राकृतिक, पुरातात्विक र सांस्कृति सम्पदाको संरक्षणगर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको थियो । उहाँले रत्न मन्दिर र हिमागृह जस्ता ऐतिहासिक महत्वका स्थललाई व्यावसायिक प्रयोजनमा लगाउन नहुने बताउनुभयो ।
बाराहीघाट, रत्न मन्दिर र हिमागृहको केही जग्गा फेवातालको मापदण्डभित्रसमेत पर्ने हुनाले लिजमा दिन नमिल्ने उहाँले बताउनुभयो । बैठकले ऐतिहासिक महत्त्वका जग्गा र सम्पदास्थलको यथोचित संरक्षण र व्यवस्थापनगर्न तीनै तहका सरकारलाई अनुरोधगर्ने निर्णय गरेको छ । नेपाल ट्रष्टले पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट, रत्न मन्दिर र हिमागृह परिसरको जग्गामा व्यावसायिक कम्प्लेक्स, होटल, रेष्टुराँ, मनोरञ्जन केन्द्रलगायत व्यावसायिक संरचना निर्माणका लागि लिजमा दिने प्रस्ताव ल्याएको छ ।