काठमाडौं,२० भदौ । गृह मन्त्रालयले राष्ट्रिय बिपतको अवस्थामा पनि कर्मचारीको सरुवालाई निरनतरता दिएको छ । यसैक्रममा केही जिल्लाका सिडियो र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरिएको थाहा भएको छ । सो मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार भन्दै मन्त्रालय र बिभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार राष्ट्रिय किताब खानाबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ । त्यसैगरी सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यसैगरी बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको सीडीओको जिम्मेवारी दिइएको छ । त्यसैगरी गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई गृहमन्त्रालय वा अन्तर्गत ल्याइएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवमा गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई सहसचिवका रुपमा गृह मन्त्रालयमै सरुवा गरिएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । गृह मन्त्रालयका आन्तरिक महाशाखा प्रमुख ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा कार्यरत वरिष्ठ अध्यागमन अधिकृत वेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । गृहमन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गृहमन्त्रालयका उपसचिव बन्दना केसीलाई सल्यानको प्रमुख जिल्ला अधिकारी र उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल पौडेललाई पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको थाहा भएको छ ।