काठमाडौं,१९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयको हिजोको बैठकले तीनतिर फर्किएका तीन तहका सरकार नै विपद् व्यवस्थापनमा मुख्य समस्या भएको ठहर गरिएको थाहाभएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको बैठकले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनःस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको छ । पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद् प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत र सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई थप सक्रिय बनाउने निर्णय पनि गरेको छ । विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वयगर्ने निर्णय पनि गरिएको जनाइएको छ । बैठकले सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।