काठमाडौं,२० भदौ । उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाल फेरी बिभाजनको संघारमा पुगेको थाहा भएको छ । सो पार्टीले लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यकासाथै स्थानीय तहका जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गरेपछि उक्त फुटको अवस्था सिर्जना भएको हो । गत १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त कारवाहीको निर्णय गरेको सो पार्टीले जनाएको छ । पार्टी नीति र निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदानगरी सरकारमा सहभागी भएकोभन्दै प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई निष्कासन गरिएको छ ।

त्यसैगरी पार्टी सिद्धान्त र अनुशासन उल्लंघन गरेको आरोपमा निष्कासित हुनेहरुमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरु रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन् । त्यसैगरी प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष तथा सदस्यहरुलाई समेत निष्कासन गरिएको छ ।