काठमाडौं,२० भदौ । पूर्ब सञ्चारकर्मी सभापति रहेको सत्तारुढ रास्वपाले समानान्तर सञ्चार सञ्चालनको प्रयास गरेको छभने सरकारी सञ्चार माध्यमप्रति अबिश्वास गरेको आरोप लागेको छ । प्राप्त समाचारअनुसार सो पार्टीले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको उद्धार, राहत र पुनःस्थापनाबारे जानकारी दिन दैनिक आफ्नो पार्टीको अलग्गै भिडियो बुलेटिन शुरु गरेको बताइएको छ । बाढी आएको १० दिनपछि त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई प्राविधिक कर्मचारीको जीवितै उद्धार गरिएको घटना पहिलो बुलेटिनमा प्रमुखताकासाथ प्रस्तुत गरिएको थियो । सत्तारुढ दलले यसअघि यसरी अलग्गै सञ्चारको ब्यवस्था गरेर सरकारी सञ्चार माध्यमसँग प्रतिश्पर्धा गरेको देखिएको थिएन ।
नागरिकलाई सत्य, तथ्यपरक र पारदर्शी सूचना प्रवाहगर्न तथा भ्रम निवारणगर्नका लागि दैनिक रुपमा अपडेट बुलेटिन प्रसारण गरिने सो पार्टीले जनाएको छ । तर सबै बिवरणहरु सरकारी सञ्चार माध्यमसँग मिल्दाजुल्दा रहने गरेका छन् । हिजो साँझबाट पहिलो बुलेटिन सार्वजनिक गरिएको हो । बुलेटिनमा बाढी आएको १० दिनपछि त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई प्राविधिक कर्मचारीको जीवितै उद्धार गरिएको घटनालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।
नेपाली सेनासहितको संयुक्त सुरक्षा टोलीले सप्तरी तिलाठीका सञ्जय साह र काठमाडौँका कबिर महर्जनको सकुशल उद्धार गरेपछि सुरुङभित्र फसेका अन्य नागरिकहरु पनि जीवितै भेटिनसक्ने आशा पलाएको जनाइएको थियो । रास्वपाले आफ्नो अलग्गै बुलेटिन प्रशारण थाल्नुले सो पार्टी भित्र सरकार र पार्टी नेतृत्वबीच बिवाद बढेको उदाहारणकारुपमा लिने गरिएको छ । सामान्यतया यस्तो बिपतको घटनाको सूचना र समाचार सरकारी सञ्चार माध्यमले दिने गरिन्छ ।